विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रवारदेखि एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाका कार्यवाहक मेयर शिल्पा निराला कार्कीले शिविरको उद्घाटन गरिन् । पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूमा रोगको दर र मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ महानगरले बाल स्वास्थ्य शिविर सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । 
शिविरमा बाल रोग विशेषज्ञ, पोषण विशेषज्ञ, स्वास्थ्य परामर्शदाता, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारीलगायतले सेवा दिनेछन् । यो विशेष प्रकारको शिविर भएकोले जसमा बिरामी जाँच गर्नुका साथै ४ वर्षभन्दा मुनिका बालबालिकामा पोषणको लेखाजोखा गरी औषधिसहित पोषण सामग्री वितरण गरिने कार्कीले बताइन्  । poshan (1)
पोषण स्थिति पत्ता लगाउनका लागि पाखुराको जाँचका साथै उचाइ र तौलसमेत जाँच गरी पोषणको लेखाजोखा गरिन्छ । कुपोषण भएका बालबालिकाहरूलाई बालरोग विशेषज्ञ तथा पोषण विज्ञको सल्लाहअनुसार ३ महिनासम्म पोषण सामग्रीसमेत प्रदान गरिनेछ । पोषण सामग्रीमा चना, दाल, दूध, केरा, अण्डा, चामलसमेत वितरण गरिने अलीले बताए । poshan (2)

शिविरमा आउने सबै बालबालिकाहरूलाई सरसफाइ प्रवर्द्धन गर्नका लागि दुई वटा हात धुने साबुनसमेत प्रदान गरिनेछ । बिरामी पत्ता लागेका बालबालिकाहरूलाई निःशुल्क औषधि प्रदान गर्नुका साथै रेफर गर्नुपरेको अवस्थामा अस्पतालहरूसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ । १९ वटा वडाबाट सुरु भएको यो शिविर महानगरका सबै वडामा सञ्चालन गरिने स्वास्थ्य महाशाखा प्रमुख अलीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थितिमा बाल स्वास्थ्य शिविर सुरु गरिएको हो ।