सुनसरी । डेंगीको महामारी फैलिएको धरानमा प्रकोप बिस्तारै नियन्त्रणमा आउन थालेको छ ।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग बिस्तारै नियन्त्रणमा आउन थालेसङै स्वास्थ्य संस्थाहरूमा पनि बिरामीको चाप घट्दै गएको छ ।
पानी कम पर्न थालेपछि डेंगी रोगका बिरामीको सङ्ख्या समेत घट्दै गएपछि विभिन्न वडा कार्यालय तथा सङ्घ संस्थाले गर्दै आएको निःशुल्क परीक्षण तथा शिविर पनि बन्द गरेका छन् । दुई सातायता पानी पर्न कम भएको र सर्वसाधारणमा लामखुटेको लार्भा खोज र नष्ट गर अभियानको प्रभाव बढ्दै गएकाले डेंगी रोगका बिरामी कम देखिन थालेको बताइएको छ । यद्यपि जोखिम भने अझै कायमै रहेको स्वास्थ्य महाशाखाको भनाई छ ।
गएको जेठ महिनादेखि फैलिएको डेंगीको प्रकोपका कारण धरानमा मात्रै अहिलेसम्म १६ हजार ७ सय मानिस सङ्क्रमित भएका छन् । १३ जनाको मृत्यु भएको छ ।
तीनै तहको सरकारबिच समन्वयात्मक ढङ्गले काम हुन नसक्दा प्रकोप कम हुन समय लागेको हो ।