सुनसरी । दुई साता देखी आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक काममा फर्किएका छन् ।
सरोकारवाला निकायसँग समन्वय गरी एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउने लगायत दुई पक्षीय सहमतिपछि प्रतिष्ठानमा जारी आन्दोलन स्थगित गरी उनीहरू काममा फर्किएका हुन ।
प्रतिष्ठान पदाधिकारी र शिक्षक कल्याण समाजका पदाधिकारीबिच भएको तीन बुँदे सहमतिपछि शिक्षक, कर्मचारीले गर्दै आएको परीक्षा बहिष्कार लगायतका आन्दोलन स्थगित गरेका हुन् । सहमतिसँगै उनीहरूले परीक्षा शाखामा लगाएको ताला पनि खोलेका छन् ।
६ वर्षदेखि १८ वर्षसम्म वृत्ति विकास र बढुवा नभएको भन्दै प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले आन्दोलन गर्दै आएका थिए । सहमतिमा २०८० पुस २० गते प्रकाशित आन्तरिक बढुवा, २०७९ माघ २५ गते प्रकाशित  सेवाको पदपूर्ति गर्ने प्रक्रियाको निरन्तरताको व्यवस्थापन गर्नका लागि सरोकारवाला निकायबाट सहमति लिई सम्पूर्ण पदाधिकारी सरोकारवाला समेतको प्रयासबाट एक महिनाभित्र बाँकी रहेको विभागहरूका अन्तर्वार्ता सञ्चालन गरी एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ ।
त्यस्तै आन्दोलनमा सहभागी शिक्षक-कर्मचारीप्रती  पूर्वाग्रह नराख्ने र आन्दोलनरत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरी आआफ्नो कार्यमा संलग्न हुने सहमति गरिएको छ ।
शिक्षक कल्याण समाजले दिएको अल्टिमेटमको बेवास्ता गरेपछि शिक्षक चिकित्सकले शिक्षण, परीक्षा र अतिरिक्त जिम्मेवारीका सबै कार्यक्रम बहिष्कार गर्दै धर्ना लगायतका आन्दोलन गरेका थिए ।
आन्दोलनका कारण प्रतिष्ठानमा पठनपाठन तथा परीक्षाको सम्पूर्ण कार्यक्रम ठप्प भएको थियो ।