सुनसरी । सुनसरीका विपन्न वर्गका अधिकांश महिलाहरूमा पाठेघरको समस्या रहेको पाइएको छ ।
राम धुनी नगरपालिका र जिल्ला अस्पताल इनरुवाको आयोजनामा बिहीबार भएको महिला स्वास्थ्य शिविरमा परीक्षण गराएका अधिकांश महिलामा पाठेघरको समस्या रहेको पाइएको हो ।
विपन्न वर्गका महिलाहरूलाई लक्षित गरेर आयोजना गरिएको शिविरमा  आउने महिलाहरूमा अधिकांशको पाठेघरको मुखको सङ्क्रमण, आङ खस्ने जस्ता समस्या धेरैमा देखिएको चिकित्सकले बताए ।
शिविरमा ५१ जना महिलाको पाठेघर परीक्षण गरिएकोमा ३ जनामा चुरी हालिएको र सङ्क्रमण देखिएका ३० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बोलाइएको छ । निःशुल्क शिविर आयोजना गरिए पनि अधिकांश महिलाहरू लाज मानेर परीक्षण गराउन नआउने गरेको समेत पाइएको छ ।
patheghar
महिनावारी हुँदा र सुत्केरी अवस्थामा आवश्यक सरसफाइको कमीले महिलाहरूमा त्यस्तो समस्या देखिएको चिकित्सकको भनाई छ । महिलाले समयमै पाठेघर परीक्षण गराउनुपर्ने चेतनाको कमीका कारण उनीहरूको पाठेघरमा समस्या आउने र अन्तिममा पाठेघर नै फाल्नुपर्ने अवस्था बढ्दै गएको छ ।
जसको मुख्य कारण महिलामा आफ्नो स्वास्थ्यबारे चेतना नहुनु र परीक्षण गराउन लाज मान्नु नै प्रमुख रहेको जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले बताए ।
यस्तो समस्याबाट बच्न आवश्यक सरसफाइका उपाय अपनाउने, बेला बेला आवश्यक स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सल्लाह रहेको छ ।
तर स्वास्थ्य बिमा र अस्पतालहरूमा सहज पहुँचको अभावमा ग्रामीण क्षेत्रका अधिकांश महिलाहरू परीक्षणको लागि स्वास्थ्य शिविरकै भर पर्नुपर्ने बाध्यता रहेको परीक्षणमा आउने महिलाहरूको गुनासो छ ।