सुनसरी । स्थानीय तथा प्रदेश सरकारको बेवस्ताको कारण धरानमा चार महिना अघिदेखि फैलिएको डेंगी संक्रमणको महामारी अझै कम हुन सकेको छैन ।

गत असारदेखि संक्रमणदर ७० देखि ७२ प्रतिशतकै हाराहारीमा कायम छ । जनस्वास्थ्यविद्‌हरुले अझै केही महिना महामारी कायमै रहने बताए पनि स्थानीय तथा प्रदेश सरकारले प्रभावकारी काम गर्न सकेका छैनन् । गत साउन महिनामा मात्रै डेंगी संक्रमितको संख्या दैनिक दुई सयदेखि २७० जना पाइएको थियो ।

अहिले पनि दैनिक सरदर १५० देखि दुई सयजना पोजिटिभ पाइएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको धरानमा १४ हजार ९८१ जनामा संक्रमण पुष्टि भइसकेको छ । महामारी फैलिएपछि जनस्वास्थ्य आपत्‌काल घोषणाका लागि जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले प्रदेश र संघीय सरकारलाई सिफारिस गरेको थियो । तर उपमहानगरपालिकाले नै स्वास्थ्य आपत्‌काल घोषणा गर्न जरुरी नरहेको जनाएपछि उक्त सिफारिस अपलत्र भएको छ ।