इटहरी । मोरङको सुन्दरहैँचा युवा सेवा समाजले विद्यालयका युवा विद्यार्थीहरूलाई लागूपदार्थ सेवन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सुकुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ९, १० साथै ११, १२ का विद्यार्थीलाई लागूपदार्थ विरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको हो । 
विद्यार्थीहरूलाई लागूपदार्थको सेवनबाट हुने स्वास्थ्य समस्या, सामाजिक तथा आर्थिक रूपमा पार्ने प्रभाव साथै कानुनी सजायको विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको हो । लागूपदार्थको प्रयोग गर्दा हुने कानुनी सजायको बारेमा स्थानीय प्रहरी कर्मचारीले विद्यार्थीहरूलाई जानकारी दिएका थिए ।  
विशेष गरी विद्यालय तह मध्ये ९, १० तथा ११ ,१२का युवा विद्यार्थीहरू लागूपदार्थको दुर्व्यसनमा फस्ने उच्च जोखिम हुने गर्दछ । 
विद्यार्थीहरूलाई लागूपदार्थको जोखिमबाट बचाउन सचेतना कार्यक्रम आयोजना गरिएको सुन्दरहरैँचा युवा सेवा समाजका अध्यक्ष सुवास पाण्डेले जानकारी दिए । २० वर्ष भन्दा कम उमेरका विद्यार्थी भाइबहिनीहरू लागूपदार्थको कुलतमा फसेको पाइएपछि रोकथामका लागि अभियान सुरु गरेको उनले बताए । 
लागूपदार्थ दुर्व्यसन विरुद्धको प्रशिक्षण कार्यलाई अन्य विद्यालयमा पनि निरन्तरता दिने संस्थाका अध्यक्ष पाण्डेले जानकारी दिए ।