विराटनगर । गर्मीको समयमा नाक बन्द हुने, चिलाउने समस्याहरू पछिल्लो समस्या धेरेमा देखिन्छ ।  हरेक दिन बाहिरी वातावरणबाट घर पुग्दा होस् या  कार्यालयमै कामको सिलसिलामा पनि नाक चिलाउने, बन्द हुने या नाकमा मासु पलाएको जस्तो समस्याहरू पछिल्लो सयमा बढी नै देखिन्छ । समस्या देखिँदै जाँदा यसको तत्कालै समाधान गर्न सकिएन भनेँ क्यान्सर जस्ता दीर्घकालीन असरहरू पनि हुनसक्छ । समस्या देखिने बित्तिकै त्यसको समाधान पनि खोज्न चिकित्सकहरूले सल्लाह दिँदै आएका छन् । आफ्नो नाकमा आउने समस्या र सङ्क्रमणहरू जोगाई आफू स्वस्थ रहन के के कुरामा ध्यान दिनु पर्ला भन्ने बारेमा विराट मेडिकल कलेज  एन्ड टिचिङ हस्पिटल बुढीगंगाका नाक, कान, घाँटी रोग विशेषज्ञ डा.विपिन कोइरालासँग कुराकानी गरेका छौँ । 

नाक सम्बन्धी समस्याहरू कसरी आउन सक्छन् ?
नाक सम्बन्धी समस्या एउटा कारणले मात्र हुँदैन । यो समस्या उमेरका कारणले पनि हुनसक्छ । बच्चाहरूको समस्या र ठुलाको समस्या फरक हुनसक्छ । बच्चाहरूले आफ्नो स्वास्थ्यमा ध्यान दिएका हुँदैनन्  । आफ्नो नाकमा फरेन बडी हालेर आउने, केही खेलाई राखेका चिजहरू हालेर आउने समस्या अधिक मात्रामा रहेको छ । अब  योङ्गहरुमा एलर्जीका समस्याहरू, नाक बन्द हुने समस्याहरू, नाकमा मासु पलाउने समस्याहरू धेरै छन् । त्यो भन्दा माथिको उमेरमा भने नाकबाट रगतहरू बग्ने, नाकमा मासु पलाएपछि हुने क्यान्सरका समस्याहरू पनि हुन सक्छन्  । 

नाक बन्द हुने समस्या के हो ?
खासमा नाक बन्द हुने समस्या भनेको धेरै कारणहरू हुन्छन् । नाकको अगाडीको भागमा केही कुरा अड्कियो, केही कुराहरू रह्यो भने पनि नाक बन्द हुन सक्छ । तपाईँको नाकको हड्डी बाङ्गो छ भने पनि नाक बन्द हुनसक्छ । नाकमा मासुहरू बढेको, नयाँ मासु पलाएको अवस्थामा पनि नाक बन्द हुनसक्छ । 

अहिले त प्रदूषणको पनि समस्या छ, यसले नाकमा कस्तो असर गर्छ ?
प्रदूषणको कारणले नाकमा प्रशस्त असर गर्न सक्छ । यसमा म केही रिफ्लेक्सको कुरा गर्छु ।   प्रदूषणबाट नाकमा पर्ने असरलाई न्यानो पल्मोनरी रिफ्लेक्स हामीले भन्छौँ, यो हुन त मेडिकल टम्स हो । प्रदूषणको कारणले गर्दा कहिलेकाहीँ नाकहरू जाम हुने, त्यसले गर्दा भित्री फोक्सोसम्म असर पुगेर त्यो रिफ्लेक्ट एक्टिभेट भएर श्वास प्रश्वाससम्म समस्या आउने गर्छ  । 

नाकमा मासु पलाउने कारण चैँ  के हुन् ?
नाकमा मासु पलाउने भनेको विशेष गरी दुई भागमा विभाजन गर्न सक्छौँ । मासु पलाउने भन्ने चैँ हामी न्याजलपलिप भनेर बुझ्छौँ । यो अवस्था भनेको क्यान्सरको अवस्था हैन तर यसलाई एक ट्युमरको हिसाबले बुझ्न सकिन्छ । यस्तो अवस्थामा हामीले पोलीपोईडल्ट इश्यु भन्छौँ । यसमा उपचार सम्भव हुन्छ । अर्को भनेको (म्यानिमेन्ट इश्युज) यो अवस्थालाई नाकमा मासु पलाएको छ तर त्यो क्यान्सरको अवस्थामा पुगिसकेको अवस्थाको रूपमा हामीले बुझ्न सक्छौँ । 
नाक चिलाउने, धेरै हाच्छ्युँ आउने समस्या  कस्तो खालको हो ?
नाक चिलाउने, हाच्छ्युँ आई रहने समस्यासँगै तालु चिलाउने, कान चिलाउने लगायतका सबै समस्या एलर्जीकफेनमेनासँग सम्बन्धित छ । बिशेष गरी यो तोरी फुल्ने समयमा धेरै भएको पाउँछौँ । यसलाई हामी सिजनल र पेरिनियल भनेर क्लासिफाई गर्छौँ । मेडिकलको भाषामा हामीले यसलाई एलर्जीक राईनाईटिक्स भनेर भन्ने गर्छौँ ।  नाक चिलाउने, हाच्छ्युँ आई रहने भनेको यही रोगसँग सम्बन्धित समस्या हो । 
यस्ता समस्याको घरेलु उपायहरू केही छन् ?
हामीले भन्दै आउने र दिने सुझाव भनेको धुलोबाट बच्नुस् भनेर भन्दै आएका हुन्छौँ । धुलोसँगै, धुवाँ र चिसोबाट पनि यस्ता समस्याका बिरामीहरू बच्नु पर्ने हुन्छ  । एलर्जीको मुख्य कारक तत्त्व भनेको धुलो, धुवाँ र चिसोको वरिपरि घुम्ने गरेको हुन्छ । बिरामीहरूले धुवाँ, धुलो र चिसोबाट बच्ने काम गर्नु पर्‍यो । 
यो नाथ्री फुट्ने समस्या के हो, अनि यो गर्मीको समस्या हो कि जाडोको हो ? 
बिशेष गरि यसमा क्रोमोबायोलोजी भन्ने टम्स हामीले प्रयोग गर्छौँ । क्रोमोबायोलोजिको कुरा पहिला बुझ्नु पर्ने हुन्छ ।  हामी जाडोमा बढी नाथ्री फुट्ने समस्या हुन्छ भन्छौँ  । यो समस्या गर्मीको भन्दा जाडोमा बढी हुने गर्छ । 

आफू स्वस्थ रहन नाकको सुरक्षा गर्ने उपाय के हुन् ?

गर्मीको समय हो, यो समयमा हामी पङ्खामा बढी बस्ने गछौँ, त्यसले नाक बन्द गराउँछ । गर्मीको समयमा नै बढी धुलो हुन्छ । धुवाँ धुलो भनेको हाम्रो जीवनको दैनिकी जस्तै भई सक्यो । जहाँ पनि यसको असर देखिन्छ । यस्तो अवस्थामा बाहिर हिँड्दा मास्कहरू लगाएर हिँड्ने । नाकमा मासुहरू बढेको जस्तो आफूलाई लागेको छ भने नजिकैको चिकित्सकलाई गएर भेट्ने, जस्तोकी, काठ मिलमा काम गर्ने, सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने  मानिसहरू पनि हुनुहुन्छ भने यस्ता अवस्थामा हामी अकुपेश्नल एक्पोजर पनि हामी भन्ने गर्छौ । अकुपेश्नल कुराहरूसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो स्वास्थ्यको बारेमा विशेष ध्यान दिन म सुझाव दिन्छु ।