विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस गर्न विद्यालयहरूलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयहरूमाथि कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ । 
महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बाल विकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बाल विकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेस नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको हो । 
विवरण पेस नगर्ने विद्यालयको नाम महानगरको वेभ साइटमार्फत सार्वजनिकसमेत गरेको छ । “सोमबार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेस नगरे हामी त्यस्ता विद्यालयमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,” मेयर कोइरालाले भने,, “महानगरले पटक–पटक विवरण उपलब्ध गराउनका लागि तागेता गर्दा पनि बेवास्ता गरेको पाइएको छ । अब सोमबारसम्म हेरौँ, त्यसपछि महानगर कडा रूपमा प्रस्तुत हुन्छ ।” एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको सङ्ख्या ८९ रहेको छ  । 
त्यस्तै (आईईएमआईएस)मा दर्ता नभएका विद्यालयको सङ्ख्यासमेत जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरू सञ्चालनमा रहेका छन् । त्यसमध्ये आइतबार कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेस गरेका छन् ।
 सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेस गरेका छैनन् ।  त्यस्तै २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेस गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेस गर्न बाँकी रहेको छ । 
यसै गरी शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापनसम्बन्धी परीक्षा महानगर आफैँले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।