विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेका छन् । 
 कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मावि र विराटनगर–९ स्थित सरस्वती माविको अनुगमन गरे ।  शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टोली सहित  विद्यालय पुगेका  मेयर कोइरालाले विद्यार्थीहरूसँग अन्तरक्रियासमेत गरेका थिए।  विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरू दिने समय, विद्यार्थी गर्ने गृहकार्य, लगनशीलताको अवस्था लगायतका विषयमा जानकारी लिएका थिए । 
विद्यालय स्तरदेखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिए मात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुनेमा जोड दिइएको छ।
मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए । अनुगमनसँगै मेयर कोइरालाले विद्यार्थीहरूसँग अन्तरक्रियासमेत गरे । उनले आफू विद्यालय पढ्दाका अनुभवसमेत सुनाएका थिए ।  अन्तरक्रिया पछि मेयर कोइरालाले शिक्षकहरूसँग विद्यार्थीहरूले उठाएका विषयमा छलफल गरे ।  विराटनगरका सबै सामुदायिक विद्यालयमा पङ्खा जडान गर्ने महानगरले योजना बनाएको भए पनि अझै बालबालिका गर्मीको समयमा पनि पङ्खा बिना नै पढ्न बाध्य हुँदै आएका छन् । school anugaman (2) शिक्षकले नियमित पठन पाठन नगर्ने र पढाइमा हुँदै आएको हेलचेक्राईँको बारेमा भने महानगरले सुधारको काम गर्न सकेको छैन । नेताका दबाब र प्रभावमा शिक्षकहरूले विद्यालयमा समय नै नदिँदा पनि महानगरले बेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको। सामुदायिक विद्यालय सुधारको लागि महानगरपालिकाले अहिलेसम्म कसरी अघि बढ्ने भन्ने कुनै योजना अघि सार्न सकेको छैन ।  चर्चामा आउनकोलागि अनुगमन गरेको जस्तो देखिए पनि त्यस्ता अनुगमन प्रभावकारी  नहुने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । ‘आफू चर्चामा आउनकोलागि अनुगमन गरेको जस्तो देखिन्छ, शिक्षा विज्ञहरू भन्छन्, यस्ता अनुगमन गर्दा निश्चित मापदण्ड सहित प्रभावकारी रूपमा जानु पर्छ, अनि मात्र शिक्षामा सुधार हुनसक्छ ।’