सुनसरी । पूर्वाञ्चल बिश्वबिद्यालयमा सुबिधासम्पन्न सभाहल बन्ने भएको छ । बिश्वबिद्यालय परिषरमा बन्न लागेको ७ सय ५० सीट क्षमताको सभाहलसंगै बैंकिङ कारोबारलाई सहज बनाउन नबिल बैंकको शाखा कार्यलयको पनि शिलन्यास गरिएको छ । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बनाईदिन लागेको हल र बैकको शाखा कार्यलयको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री अशोक राई र नबिल बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले शिलन्यास गरेका छन ।
शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री राईले बिश्वबिद्यालयहरुलाई बढी राजनितिकरण गरिएको बताएका । मन्त्री राईले राजनितिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको बताए । बिश्वबिद्यालयमा शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरुले बढी राजनिति गर्दा बिश्वबिद्यालयलाई घाटा भैरहेको मन्त्री राईको भनाई थियो । अन्य देशमा राजनीतिक ब्यक्तिलाई बिश्वबिद्यालयको पदाधिकारी बनाउने परिपाटी नरहेको उल्लेख गर्दै नेपालमा पनि यसलाई बिस्तारै कम गर्दै लैजाने उनले बताए ।
आफु मन्त्री बनेको एक महिनाको अवधीमा शिक्षाक्षेत्रका सरोकारबालाहरुसंग छलफल गर्दा सुधार गर्नुपर्ने धेरै कुरा रहेको उनले बताए । अहिले पनि शिक्षाक्षेत्र सुधारका लागि कतिपय ऐन कानून बन्न नसकेकाले आउदो अधिबेशनमा रोकिएका ऐनलाई पेश गर्ने जानकारी दिए । बिश्वबिद्यालय अनुदान आयोगका पदाधिकारीसंगको छलफलमा धेरै बिश्वबिद्यालयमा समस्याको चांङ रहेको तर पूर्वाञ्चल बिश्वबिद्यालय र सुदुरपश्चिम बिश्वबिद्यालयले समस्या भन्दापनि धेरै उपलब्धी हासिल गरेको आफूले पाएको बताए । बिश्वबिद्यालयहरुले सधै अनुदानको भरमा चल्नेभन्दा पनि आत्मनिर्भर बन्ने चेष्टा गर्नुपर्ने मन्त्री राईको सुझाव थियो ।
उच्च शिक्षाको लागि बिदेशीने प्रबृतीको अन्त्य गर्न बिदेश उत्तम स्वदेश खत्तम भन्ने सोचलाई बदल्न बिश्वबिद्यालयहरुले समय सापेक्ष गुणस्तरिय शिक्षाको ब्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए । २३ बर्षदेखी शिक्षक दरबन्दी मिलान गर्न नसकिएको जनाउदै बालकक्षा, राहत र करार शिक्षकको समेत समस्या कायमै रहेको बताए । बिश्वबिद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला र रजिष्टार नीलमणी पोखरेलले चिकित्शा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमती पाएसंगै मेडिकल कलेज सञ्चालनको लागि थप साधन श्रोत आवश्यक पर्नेभएकाले उपलब्ध गराइदिन आग्रह गरे ।
आगामी शैक्षिक शत्रदेखी एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको बिश्वबिद्यालयलाई सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । लामो समयदेखी मेडिकल कक्षा सञ्चालनको अनुमती कुरेर बसेको बिश्वबिद्यालयले यसैबर्ष मात्र अनुमती पाएको भन्दै सबैको साथ सहयोग भए आगामी शैक्षिक सत्रबाट कक्षा संचालन गर्न सकिने पदाधिकारीहरुको भनाई थियो ।

















