विराटनगर। भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षतिपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) मोरङले ५४ लाख ६५ हजारभन्दा बढी रकम सहयोग पठाएको छ। हिसान मोरङमा आबद्ध सदस्य विद्यालयहरूबाट सङ्कलन गरिएको उक्त रकम हिसान केन्द्रको खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र केन्द्रीय राहत कोषमा जम्मा हुने गरी पठाइएको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी हिसानले जिल्लाका विभिन्न १४ वटा निजी शिक्षालयहरूबाट कुल ५४ लाख ६५ हजार ८ सय चौँतिस रुपैयाँ सङ्कलन गरिएको जनाएको छ। जसमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख ३३ हजार ५ सय ५५ रुपैयाँ र हिसान केन्द्रको राहत कोषमा २८ लाख ३२ हजार २ सय ७९ रुपैयाँ पठाइएको अध्यक्ष ढकालले जानकारी दिए।
राहत रकम सङ्कलनमा शिक्षा दीप माविले सर्वाधिक १३ लाख ५२ हजार रुपैयाँ सहयोग गरेको छ, जसमध्ये १ लाख ५१ हजार प्रधानमन्त्री कोषमा र १२ लाख ५१ हजार हिसान केन्द्रमा जम्मा गरिएको छ। यस्तै, अरनिको माविले १० लाख १ हजार १०१ रुपैयाँ र भिकेभिएमले १० लाख रुपैयाँ योगदान गरेका छन्।
त्यसै गरी मेरिल्यान्ड मावि, अर्किड मावि, कान्तिपुर मावि, सगरमाथा मावि र रेड स्टार माविले सहयोग पठाएका छन्। ग्रिनल्याण्ड मावि, सोम्स कलेज, भानु मावि र निहारिका कलेज, सिद्धार्थ मावि तथा लर्डबुद्ध कलेजले पनि राहत कोषमा योगदान पु¥याएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित नागरिकहरूको उद्धार, पुनर्स्थापना र नेपाल सरकारको राहत अभियानमा हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो रकम सङ्कलन गरी पठाइएको हिसान मोरङले जनाएको छ।











