सुनसरी । झापाको दमक नगरपालिका–३ स्थित सखुवा जंगल क्षेत्रबाट काठ तस्करी भइरहेको आरोपमा स्थानीयले सखुवाको ५० थानभन्दा बढी काठसहित एउटा बोलेरो गाडी नियन्त्रणमा लिएका छन् ।

स्थानीयका अनुसार काठ ओसारपसारमा प्रयोग गरिएको को २ च २४१ नम्बरको बोलेरो गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

गाडीमा उर्लाबारी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार सन्तोष पाण्डे पनि सादा पोशाकमा रहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएको बताइएको छ ।

हंसे–दुम्से सामुदायिक वनका अध्यक्ष योगराज दंगालका अनुसार सामुदायिक वनको गस्ती टोलीले काठ ओसारपसार भइरहेको अवस्थामा गाडी नियन्त्रणमा लिएको हो ।

उनका अनुसार गाडीमा सखुवाको काठका गोलिया तथा चिरान गरिएको काठसमेत रहेको थियो ।

दमक–३ का स्थानीयले भने यस क्षेत्रमा लामो समयदेखि काठ ओसारपसार हुने गरेको आरोप लगाएका छन् ।

उनीहरूले वन क्षेत्रबाट काठ निकाल्ने क्रम रोक्न नियमित निगरानी र कडाइ गर्नुपर्ने बताएका छन् ।

घटनाबारे वन कार्यालय र प्रहरीले आवश्यक अनुसन्धान तथा काठको स्रोत र ओसारपसारमा संलग्न व्यक्तिबारे छानबिन गर्नुपर्ने स्थानीयको माग छ ।

गाडीमा प्रहरी कर्मचारीसमेत रहेको विषयले घटनालाई थप शंकास्पद बनाएको स्थानीयको भनाइ छ ।

काठ वैध रूपमा कटान तथा ओसारपसार गरिएको हो वा अवैध रूपमा तस्करी गर्न खोजिएको हो भन्ने विषय सम्बन्धित निकायको अनुसन्धानपछि स्पष्ट हुने छ ।