सुनसरी । भदौ २४ इटहरी उपमहानगरपालिकाका लागि कालो दिन हो । यो कार्यालय जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण जलेर ध्वस्त भएको थियो ।
आज भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको एक बर्ष पुरा भएको छ । अहिले जो कोही उपमहानगरको गेट भित्र प्रवेश गर्छ, उसलाई त्यहि भदौ २४ गतेको आगजनीको दृष्य याद आउँछ ।

अहिले पनि जलेका भवनका भग्नावशेस, जलेका गाडीहरु त्यत्तिकै छाडिएका छन् । त्यो दृष्य देख्ने वित्तिकै जो कोहीको आँखामा त्यहि दिनको याद आउँछ ।
उपमहानगरपालिकाले सेवा त नयाँ भवनबाट सुरु गरेको छ । तर आन्दोलनका क्रममा जलेका संरचना, सवारी साधन, उपकरणहरुको व्यवस्थापन भने गरेको छैन । जलेका ति संरचनाले जो कोहीलाई कहालिलाग्दो त्यहि दिनको सम्झना दिलाउँछ ।

आगजनीबाट इटहरी उपमहानगरपालिकाको मुख्य प्रशासनिक भवन, सवारीसाधन सहित महत्वपूर्ण कागजात, दस्तावेज, फाइल, नक्सा, उपकरण, कम्प्युटर लगायतका सामग्री जलेर नष्ट भएका थिए ।
आगजनीमा दुईवटा स्कारपियो, दुईवटा दमकल, एउटा अत्याधुनिक पानी ट्याङ्कर, तीनवटा ट्याक्टर, एउटा बोलेरो, एउटा रोलर, एउटा ग्रेडर, तीनवटा ट्रिपर, १० वटा मोटरसाइकल र एउटा जेसिभीसहितका सवारीसाधन ध्वस्त भएका थिए ।

यी जलेका सवारी साधनको व्यवस्थापन गर्न इटहरी उपमहानगरपालिकाले खासै ध्यान दिएको छैन । जस्तो छ त्यस्तै अवस्थामा राखिएको छ । उपमहानगरपालिकाको दैनिक प्रशासनिक कार्य सञ्चालन भइरहेको छ ।
तर जलेका यी संरचना, सवारी सधानको व्यवस्थापन गर्न इटहरी सरकारले देखाएको अनिच्छालाई भने सेवा लिन पुगेका सेवाग्राही र इटहरीबासीले भने अर्थपूर्ण रुपमा हेरेका छन् ।












