सुनसरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को उपाधी हर्षिल आचार्य र युनिशा निरौलाले जितेका छन् । जुनियर तर्फको उपाधि भने काव्याश्री दाहालले जितेकी छिन् ।
इटहरी आर्ट एण्ड फाउन्डेसनले एक महिनाको अवधिमा विभिन्न विद्यालयका ३१ बालबालिकाहरु बिच प्रतिस्पर्धा गराइएको थियो । विभिन्न चरणका तालिम तथा अभ्यास पछि भदौ २१ गते आयोजित विशेष समारोहमा विजेताहरु घोषणा गरिएको हो ।
एक महिना सम्म चलेको प्रतिस्पर्धामा बालबालिकाहरुलाई मूर्तिकला, लेखनकला, चित्रकला, व्यक्तित्व विकास, नेतृत्व विकास तथा ट्राफिक सचेतना अभियानअन्तर्गत जेब्राक्रसिङसम्बन्धी अभ्यास लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। बालबालिकालाई सिर्जनात्मक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिभावकको सहभागितामा अटिजमसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो।
प्रतियोगितालाई केवल उपाधिका लागि हुने प्रतिस्पर्धाका रूपमा नभई बालबालिकाको प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता, सिर्जनशीलता र सामाजिक चेतना विकास गर्ने माध्यमका रूपमा अघि बढाइएको इटहरी आर्ट एण्ड फाउन्डेसनका अध्यक्ष तुलसी घिमिरेले जानकारी दिए ।

युनिशा र हर्षिलको हातमा उपाधि
प्रतियोगिताको मुख्य विधा लिटिल मिस इटहरीको उपाधि नेपाल डीभीएम स्कुलकी युनिशा निरौलाले जितिन्। सोही विद्यालयकी खुसी अधिकारी फर्स्ट रनरअप र आयुषा निरौला सेकेन्ड रनरअप घोषित भए।
लिटिल मिसतर्फका तीनै उपाधि नेपाल डीभीएम स्कुलका छात्राले जितेका हुन्। जुनियर क्याटेगोरीतर्फ पनि नेपाल डीभीएम स्कुलकी काव्याश्री दाहाल विजेता बनिन्।
ब्लुमिङ किन्डर गार्डेन मन्टेसोरी स्कुलकी रियान्सी निरौला फर्स्ट रनरअप तथा नेपाल डीभीएम स्कुलकी सर्वज्ञा अधिकारी सेकेन्ड रनरअप भए।
त्यस्तै, लिटिल मास्टर इटहरीको उपाधि चिजन प्यालेस स्कुल, इटहरीका हर्षिल आचार्यले जिते। सुन्दरहरैँचा–५ स्थित पहिलो पाइला मन्टेसोरी स्कुलका एभिस सुवेदी फर्स्ट रनरअप तथा चिजन प्यालेस स्कुल, इटहरीका सारम्स चौधरी सेकेन्ड रनरअप बने।

बालकृष्ण कार्की सम्मानित
लामो समयदेखि गायन, नृत्यलगायत विभिन्न विधामा लोकप्रिय निर्णायकका रूपमा योगदान पुर्याउनुका साथै कला, साहित्य तथा सिर्जनाका माध्यमबाट इटहरी र कोशी प्रदेशको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ लोकगायक बालकृष्ण कार्कीलाई सम्मान गरिएको थियो।
कार्यक्रमकै क्रममा विजेतामध्ये काव्याश्री दाहाल र सारम्स चौधरीका अभिभावकले आफ्ना छोराछोरीले विजेताका रूपमा प्राप्त गरेको पुरस्कार रकम भोटेकोशी बाढीपीडितका लागि राहतस्वरूप प्रदान गर्ने घोषणा समेत गरेका छन्। यसले प्रतियोगितालाई मनोरञ्जन र प्रतिस्पर्धासँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडेको आयोजकले जनाएको छ।
इटहरी आर्ट एण्ड फाउन्डेसनका अध्यक्ष तुलसी घिमिरेले प्रतियोगितामा बालबालिकाले प्राप्त गरेको सिकाइ र अनुभव नै सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले लिटिल मास्टर एण्ड मिस इटहरीलाई ठूला राष्ट्रिय सौन्दर्य प्रतियोगितासँग तुलना गरेर बालबालिकामाथि दबाब सिर्जना नगर्न अभिभावकलाई आग्रह गरेका छन् ।













