इटहरी । सङ्खुवासभाको मकालु गाउँपालिकामा शिक्षकको गोली हानी हत्या गरिएको छ । स्थानीय कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षकको गए राती भरुवा बन्दुकले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका ३६ वर्षीय नरकुबिर खम्बु राईको घटना स्थलमै मृत्यु भएको सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।
राईलाई गए राति ७ बजे नजिकैबाट  गोली हानिएको थियो । शिक्षक राईको देब्रे कोखमा गोली लागेको छ । घटनाका विषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
खान खाएर भाँडा सफा गर्न विद्यालय बाहिर निस्किएका बेला राईमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । मैनालीका अनुसार अचानक बन्दुक पड्किएजस्तो आवाज आएपछि सोही विद्यालयमा बस्दै आएकी शिक्षिका टीकामाया राईले बाहिर निस्किएर हेर्दा रगताम्य अवस्थामा शिक्षक नरकुवेर राई ढलिरहेको देखेर बिहीबार राति ९ बजेतिर प्रहरीलाई खबर गरेकी थिइन् । शिक्षक राईलाई गोली कसले र किन हानेको भन्ने बारेमा खुल्न बाँकी रहेको छ ।