सुनसरी । इटहरीमा १८ वर्षमुनिका खेलाडीबीचको ‘एशियन पेन्ट्स च्याम्पियन्स कप–२०२६’ अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता आगामी भदौ २१ देखि २९ गतेसम्म इटहरी रंगशालामा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कोसी प्रदेसका विभिन्न स्थानका विद्यालय तथा कलेजका १८ वर्षमुनिका छात्र खेलाडीको टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको खेल तालिकाअनुसार सहभागी टोलीलाई समूह ‘ए’ र समूह ‘बी’ मा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा माउन्ट हर्मोन एकेडेमी, लर्ड बुद्ध इन्टरनेसनल स्कुल, निदी सेकेन्डरी स्कुल, जीबन ज्योति सेकेन्डरी स्कुल, कोशी सेन्ट कलेज, राजाबास इङ्लिस सेकेन्डरी स्कुल, सुषमा कलेज, दिप्सन सेकेन्डरी स्कुल, गोदावरी विद्या मन्दिर र इन्द्रपुर इङ्लिस स्कुल रहेका छन् ।

यस्तै, समूह ‘बी’ मा पूर्वाञ्चल कलेज, प्यारागन एकेडेमी, ग्रिनपिस एकेडेमी, निजामती रेसिडेन्सियल स्कुल, हिमशिखर, धरान मेघा कलेज, महेन्द्र मोरङ, नमुना कलेज, विश्वआदर्श कलेज र शहीद स्मृति स्कुल सहभागी हुनेछन् ।

समूह चरणका खेलहरू भदौ २१ देखि २६ गतेसम्म सञ्चालन हुने तालिकामा उल्लेख छ ।

प्रतियोगिताको क्वार्टरफाइनल चरणका खेलहरू भदौ २४, २५ र २६ गते हुनेछन् ।

त्यसपछि सेमिफाइनलका खेल भदौ २७ गते सञ्चालन हुनेछन् । प्रतियोगिताको उपाधिका लागि भदौ २९ गते दिउँसो २ः३० बजे फाइनल खेल हुनेछ ।

विद्यालय तहबाटै प्रतिभावान् फुटबल खेलाडी पहिचान तथा उनीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यालयस्तरीय फुटबलको माहोललाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।