इटहरी । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले २४ बुँदे प्रस्ताव पेस गरेका छन् । श्रम सस्कृती पार्टीको आजको बैठकमा उनले पार्टीलाई सुव्यवस्थित र संस्थागत गर्न भन्दै २४ बुँदे प्रस्ताव पेस गरेका हुन् । उनले पेस गरेको प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट पारित समेत भएको छ ।
किराँतीले नीति तथा संस्थागत व्यवस्था अन्तर्गत विधान निर्माण गरी विधानको अधीनमा रही पार्टी सञ्चालन गर्नुपर्ने, आर्थिक नियमावली, बजेट, लेखा तथा नियमित लेखा परीक्षणको स्पष्ट प्रणाली लागू गरिनुपर्ने, स्थानीय तथा प्रदेश निर्वाचनका लागि उम्मेदवार छनोटका स्पष्ट, वस्तुनिष्ठ तथा पारदर्शी मापदण्ड तयार गर्न कार्यदल गठन गर्नु पर्ने लगायत प्रस्ताव पेस गरेका हुन्।
त्यस्तै नेतृत्वको कार्यशैली अन्तर्गत निर्णयहरू संस्थागत हुनुपर्ने, व्यक्तिगत जबाफदेहिताको स्पष्ट प्रणाली लागु गर्नुपर्ने, पार्टीको महत्त्वपूर्ण निर्णयहरू पदाधिकारी तथा सम्बन्धित कमिटीको छलफल र निर्णयबाट गर्नुपर्ने, त्यसको अभिलेख राख्नुपर्ने, आन्तरिक विवादलाई विधिसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्ने, आवश्यक विज्ञसहितको अध्यक्षको सचिवालय गठन गर्ने तथा नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा गर्ने लगायत छन् ।











