विराटनगर। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रतिष्ठित औद्योगिक घराना एके राठी ग्रुप र ‘सारडा ग्रुपले संयुक्त रूपमा १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।  सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण गर्दै दुवै समूहका प्रतिनिधिले राष्ट्रिय संकट र प्राकृतिक विपत्तिको समयमा निजी क्षेत्र सधैं सरकारसँगको सहकार्यमा सक्रिय रहँदै आएको बताए। कार्यक्रममा सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले विगतका प्राकृतिक विपत्तिहरूमा पनि आफ्नो समूहले प्रभावित नागरिक र सरकारलाई निरन्तर सहयोग गर्दै आएको स्मरण गराए। उनले भने, विपद्बाट उत्पन्न मानवीय संकट समाधानका लागि सरकारी प्रयाससँगै निजी क्षेत्र र सामाजिक संघसंस्थाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

त्यसैगरी, एके राठी ग्रुपका निर्देशक अनुपम राठीले संकटको समयमा सरकारको प्रयासलाई साथ दिनु निजी क्षेत्रको प्रमुख सामाजिक दायित्व भएको औंल्याएका छन्। आगामी दिनमा समेत विपद् व्यवस्थापन र राहत कार्यमा सरकारलाई निरन्तर सहयोग गर्ने उनीहरूको प्रतिबद्धता छ।

रक्तदान लगायतका अन्य मानवीय सहायता

आर्थिक सहयोगका साथै सारडा ग्रुपले अन्य मानवीय सहायताका कार्यक्रम पनि सञ्चालन गरेको छ। समूहको वार्षिकोत्सवको अवसर पारेर आइतबार विराटनगर र काठमाडौंमा बाढीपीडित तथा घाइतेहरूको उपचारका लागि १५० पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ। सारडा ग्रुप नेपालको स्थापित औद्योगिक घराना हो, जसअन्तर्गत खाने तेल, स्टिल, डिस्टिलरी, साबुन, प्लास्टिक र अक्सिजन ग्यास लगायतका आठवटा उद्योग सञ्चालनमा छन्।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सडक, पुल र बस्तीहरूमा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ।

यस्तो अवस्थामा निजी क्षेत्रबाट प्राप्त यस प्रकारको सहयोगले बाढीपीडित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित बसोबास र स्वास्थ्य सेवा उपलब्ध गराउन थप मद्दत पुग्ने सरोकारवालाहरूले बताएका छन्। सारडा ग्रुपका निर्देशक एवम् सिएनआई कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाले नगद सँगै ६० लाख बरावरको खाद्य सामाग्री पठाइएको जानकारी दिए । उनका अनुसार, सारडा ग्रुप र महेश जाजु समेतको संयुक्त प्रयासबाट एक लाख प्याकेट चाउचाउ, एक लाख प्याकेट बिस्कुट र एक लाख प्याकेट जुस बाढी प्रभावित क्षेत्रमा पठाईएको छ ।