इटहरी । इटहरीस्थित एमआरएस प्रणामी अस्पतालले सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्य सेवाको शुल्क घटाएपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।

अस्पतालले विशेषज्ञ चिकित्सकको ओपीडीसहित विभिन्न स्वास्थ्य सेवाको शुल्क सर्वसुलभ बनाएर सेवा प्रवाहलाई समेत व्यवस्थित गरेपछि पछिल्लो एक महिनायता बिरामीको संख्या बढेको जनाएको छ ।

अस्पतालका अध्यक्ष हेम घिमिरेका अनुसार सर्वसाधारणलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ चिकित्सकको ओपीडी शुल्क २ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै, इमर्जेन्सी शुल्क २ सय र बेड शुल्क प्रतिदिन ४ सय रुपैयाँमा उपलब्ध गराइएको उनले बताए ।

अस्पतालमा दैनिक बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म फिजिसियन सेवा सञ्चालन हुँदै आएको छ । सर्जरी, नवजात तथा बालरोग, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोगलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट नियमित सेवा उपलब्ध भइरहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

अस्पतालले माइनर तथा मेजर शल्यक्रिया स्वास्थ्य बीमा बोर्ड र नेपाल सरकारले तोकेको दररेटअनुसार गर्ने जनाएको छ । भर्ना भएका बिरामीका लागि अक्सिजन सेवा निःशुल्क उपलब्ध गराइएको छ भने सुत्केरी सेवामा समेत विशेष सुविधा दिइएको अस्पतालको भनाइ छ ।

सुगर प्रेसरसम्बन्धी परीक्षणसमेत निःशुल्क गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार थाइराइड परीक्षण ९ सय रुपैयाँ, भिटामिन ‘डी’ परीक्षण १ हजार ७ सय, भिटामिन ‘बी–१२’ परीक्षण १ हजार १ सय, भिडियो एक्सरे ८ सय तथा गर्भवतीका लागि एनओमली स्क्यान २ हजार ४ सय रुपैयाँमा उपलब्ध छ ।

अध्यक्ष घिमिरेले अस्पतालमा उपलब्ध सेवा तथा सुविधाबारे सर्वसाधारणलाई जानकारी गराउँदै आवश्यकता अनुसार सेवा लिन आग्रह गरेका छन् ।

न्यून शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउँदै समुदायको विश्वास कायम गर्ने अस्पतालको उद्देश्य रहेको उनले बताए ।

अस्पतालको सेवा विस्तारका लागि बेड संख्या बढाउने तयारीसमेत भइरहेको घिमिरेले जानकारी दिए ।

अस्पताल परिसर नजिकै ५ सय बेड क्षमताको अस्पताल निर्माण गर्ने योजनाअन्तर्गत शिलान्यास भइसकेको छ ।

विभिन्न कारणले केही समय रोकिएको निर्माण तथा सञ्चालनको प्रक्रिया अब नियमित रूपमा अघि बढाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।