सुनसरी । कोशी नदीले धार परिवर्तन गर्न थालेपछि जोखिममा परेका सुनसरीको बराहक्षेत्र नगरपालिकाका विभिन्न क्षेत्रको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थलगत निरीक्षण गर्नुभएको छ ।

मुख्यमन्त्री कार्की नेतृत्वको टोलीले बराहक्षेत्र नगरपालिका–९ र ६ मा भइरहेको नदी कटान तथा त्यसबाट स्थानीय बस्तीमा परेको प्रभावको अनुगमन गरेको हो ।

अनुगमनमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय प्रशासन तथा स्थानीय तहका जनप्रतिनिधिसहितको सहभागिता थियो ।

निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले कटान नियन्त्रणका लागि तत्काल अस्थायी तथा आवश्यकताअनुसार दीर्घकालीन तटबन्ध निर्माण गर्न प्रदेश सरकारले आवश्यक रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पछिल्लो समय कोशी नदीले उदयपुरतर्फ धार परिवर्तन गर्न थालेपछि कोशी नदीपारिको बराहक्षेत्र नगरपालिकाका ६ र ९ नम्बर वडा प्रभावित भएका छन् ।

नदीको धार परिवर्तनसँगै उदयपुरको बेलका नगरपालिकासमेत कटानको जोखिममा परेको छ ।

कटान नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधिहरूले बालुवाका बोरा प्रयोग गरेर अस्थायी तटबन्ध निर्माण गर्नुपर्ने भन्दै नेपाली सेना र नेपाल प्रहरीको सहयोग तथा समन्वयका लागि मुख्यमन्त्रीसँग आग्रह गरेका छन् ।

मुख्यमन्त्री कार्कीले नदी किनारका बस्तीमा पछिल्लो समय जोखिम बढ्दै गएको बताउँदै स्थानीयवासीलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभयो ।

जोखिममा रहेका बस्ती तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक पूर्वतयारी र नियन्त्रणका काम अघि बढाउन सम्बन्धित निकायलाई समेत उहाँले निर्देशन दिनुभयो ।