सुनसरी । कोसी प्रदेसमा श्रावण महिनामा ४४० वटा सवारी दुर्घटना हुदा ३१ ज्नाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले कोसी प्रदेसका बिभिन्न जिल्लामा भएका दुर्घटनामा ३१ जनाको मृत्यु हुदा ५९१ जना घाइते भएको बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
एक महिनाको अवधिमा भएका दुर्घटनामा ६४६ वटा सवारीसाधन संलग्न थिए । दुर्घटनामा परेका तथा समस्यामा परेका ५९१ जनालाई प्रहरीले उद्धार गरेको जनाएको छ । दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही र तीव्र गति देखिएको छ । कुल ४४० दुर्घटनामध्ये ३६५ वटा अर्थात् ८३ प्रतिशत दुर्घटना चालकका कारण भएका छन् ।
तीमध्ये तीव्र गतिका कारण मात्रै १९२ वटा दुर्घटना भएका छन् । यो कुल दुर्घटनाको ४३.६ प्रतिशत हो ।
त्यस्तै, चालकको असक्षमताका कारण २६ वटा, अन्य लापरवाहीका कारण १०६ वटा, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउँदा २४ वटा, गलत ओभरटेकका कारण ११ वटा र ट्राफिक नियम उल्लंघनका कारण ६ वटा दुर्घटना भएका छन् ।
सवारीसाधनको अवस्थाका कारण १९ वटा दुर्घटना भएका छन् । तीमध्ये ब्रेक नलाग्ने वा ब्रेक फेल भएर ११ वटा, यान्त्रिक गडबडीका कारण तीनवटा, ओभरलोडका कारण दुईवटा र टायर पन्चर भएर तीनवटा दुर्घटना भएका छन् ।
सडक प्रयोगकर्ता तथा पैदलयात्रुका कारण ३२ वटा दुर्घटना भएका छन् । जथाभावी बाटो काट्दा मात्रै २९ वटा दुर्घटना भएको तथ्यांकले देखाएको छ ।
सडकको अवस्थासमेत दुर्घटनाको एउटा कारण बनेको छ । सडकको अवस्थाका कारण १९ वटा दुर्घटना भएका छन् । खाल्डाखुल्डीका कारण दुई, घुम्ती, मोड तथा उकालोका कारण तीन, साँघुरो तथा खतरा बाटोका कारण चार, सडक निर्माण तथा निर्माण सामग्रीका कारण दुई, कच्ची वा जीर्ण सडकका कारण दुई र चिप्लो सडकका कारण ६ वटा दुर्घटना भएका छन् ।
एक महिनाको तथ्यांकले सुनसरीमा सवारी दुर्घटनाको मुख्य जोखिम चालकको व्यवहारसँग जोडिएको देखाएको छ ।
विशेषगरी तीव्र गति र चालकको लापरवाहीका कारण हुने दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचसँगै सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । ट्राफिक प्रहरीले श्रावण महिनामा गरेको चेकजाँचका क्रममा ७ हजार ८८८ वटा कारबाही गरेको छ ।
ती कारबाहीबाट ७९ लाख ५५ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको कार्यालयले जनाएको छ ।











