सुनसरी । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्नातक तह (बीएड) मा विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । दक्षिण कोरियाली सरकारको लुपिक परियोजनाको सहयोगमा सञ्चालित विशेष आवश्यकता शिक्षा कार्यक्रमअन्तर्गत विद्यार्थीलाई प्रत्येक वर्षको छात्रवृत्ति रकम एकमुष्ट वितरण गरिएको हो ।

छात्रवृत्ति वितरणपछि लुपिक परियोजनाका प्रमुख प्राध्यापक डा. जोङले विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकसँग अन्तर्क्रिया गर्नुभएको थियो । अन्तर्क्रियामा उहाँले कार्यक्रम चार वर्षसम्म सफलतापूर्वक सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै क्याम्पसलाई बधाई दिनुभयो ।

विद्यार्थी तथा प्राध्यापकबाट प्राप्त पृष्ठपोषणका आधारमा कार्यक्रमलाई निरन्तरता दिने वा नदिने विषयमा लुपिक परियोजनाले निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

विशेष आवश्यकता शिक्षामा स्नातकोत्तर तहको अध्यापनसमेत सुरु गर्न उहाँले विश्वविद्यालय र क्याम्पसलाई सुझाव दिनुभयो ।

परियोजनाको समयावधि सकिए पनि आफ्नो मन र मुटु यही कार्यक्रमसँग जोडिएको भन्दै डा. जोङले आगामी दिनमा पनि सहयोग र सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायका डीन प्राध्यापक रामप्रसाद ढकालले विशेष आवश्यकता शिक्षालाई व्यवहारिक तथा अभ्यासमा आधारित शिक्षाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थीको अभ्यासका लागि आवश्यक सहयोग गर्न विश्वविद्यालय तयार रहेको उहाँले बताउनुभयो ।

सबैको पहुँचमा उच्च शिक्षा पुर्‍याउन विशेष आवश्यकता शिक्षा अनिवार्य रहेको उल्लेख गर्दै डीन ढकालले यसको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

क्याम्पस प्रमुख तथा डाइरेक्टर यज्ञप्रसाद जमरकट्टेलले भने लुपिक परियोजनालाई निरन्तरता दिन आग्रह गर्नुभयो । विशेष आवश्यकता शिक्षा कार्यक्रमको पहिलो ब्याचका विद्यार्थीले स्नातक तह पूरा गरिसकेको र अन्य विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै उहाँले चार वर्षको अवधिमा कार्यक्रमको आधार तयार भए पनि यसको परिणाम देखिन अझै समय लाग्ने बताउनुभयो ।

विशेष आवश्यकता शिक्षा कार्यक्रम चार वर्षसम्म सञ्चालन गराउन भूमिका निर्वाह गर्नुभएका पूर्व क्याम्पस प्रमुख तथा डाइरेक्टर महेशप्रसाद निरौलाले विशेष आवश्यकता शिक्षामा उच्च प्रविधि र उपकरणको प्रयोग आवश्यक रहेको बताउनुभयो ।

कोरियामा प्रविधि र उपकरणको प्रयोगमार्फत विशेष आवश्यकता शिक्षा प्रदान गरिने उल्लेख गर्दै उहाँले क्याम्पसमै आवश्यक उपकरणको व्यवस्था गरी विद्यार्थीलाई अभ्यासमा आधारित सिकाइको अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

 विशेष आवश्यकता शिक्षाको भविष्य उज्ज्वल रहेको बताउँदै निरौलाले केही निजी विद्यालयले विशेष आवश्यकता शिक्षा अध्ययन गरेका विद्यार्थीलाई रोजगारी दिन चासो देखाउन थालेको जानकारी दिनुभयो ।

पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका सहायक प्रधानाध्यापक तथा विशेष आवश्यकता शिक्षा अध्ययनरत भुपाल खवासले पनि प्रभावकारी सिकाइका लागि आवश्यक उपकरण तथा प्रविधिको व्यवस्था गर्न विश्वविद्यालय र क्याम्पस प्रशासनसँग माग गर्नुभयो ।

अभ्यासका लागि आवश्यक उपकरण तथा शैक्षिक सामग्री जुटाउन आफूले समेत सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

विद्यार्थी नितु मेहताले कोरिया भ्रमणका क्रममा विशेष आवश्यकता शिक्षाका क्षेत्रमा धेरै कुरा सिक्न पाएको बताउनुभयो ।

कोरियाको जस्तो अत्याधुनिक उपकरणको अभाव भए पनि क्याम्पसमा धेरै कुरा सिक्न पाएको भन्दै उहाँले आफूले हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो । जनता आदर्श बहुमुखी क्याम्पसले शिक्षा शास्त्रअन्तर्गत स्नातक तहमा विशेष आवश्यकता शिक्षा अध्यापन गराउँदै आएको छ ।

क्याम्पसमा शिक्षा शास्त्रबाहेक कला संकायअन्तर्गत सामाजिक कार्यमा स्नातक (बीएसडब्लु) र स्नातकोत्तर (एमएसडब्लु) तहको अध्यापन हुँदै आएको छ ।

यसैगरी क्याम्पसले एक वर्षे काउन्सेलिङ साइकोलोजी र एक वर्षे बीएड तथा जनसंख्या तथा विकास केन्द्रअन्तर्गत स्नातकोत्तर तहमा डेमोग्राफी तथा हेल्थ रिसर्चको अध्यापनसमेत सञ्चालन गर्दै आएको छ ।