इटहरी । विगत तीन संस्करणदेखि नकआउट प्रणालीमा हुँदै आएको इटहरी मेयर कप क्रिकेट प्रतियोगिता यसपटक नयाँ स्वरूपमा आयोजना हुने भएको छ।
चौथो संस्करणदेखि प्रतियोगिता सुपर लिग अवधारणामा सञ्चालन गरिने भएको हो।
प्रतियोगिताको नामसमेत परिवर्तन गरी ‘मेयर कप इटहरी सुपर लिग’ राखिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको नयाँ लोगोसमेत सार्वजनिक गरिएको छ।
स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँगै खेल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिताको स्वरूप परिवर्तन गरिएको आयोजकको भनाइ छ।
यस संस्करणदेखि प्रतियोगितालाई कोशी प्रदेशकै भव्य क्रिकेट प्रतियोगिताका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगिताको नयाँ स्वरूप, सहभागी टोली, खेलाडी, पुरस्कार, खेल सञ्चालन हुने स्थान तथा मितिलगायतका विषयमा आयोजक समितिले पछि औपचारिक पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराउने जनाएको छ।
नयाँ अवधारणासहितको प्रतियोगिताले इटहरी तथा कोशी प्रदेशका स्थानीय खेलाडीलाई उच्चस्तरको प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।











