सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १३ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

प्रतिष्ठानले सार्वजनिक गरेको सूचीअनुसार शिक्षाध्यक्ष पदका लागि ४ जना, रजिस्ट्रारका लागि ४ जना र अस्पताल निर्देशक पदका लागि ५ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।

शिक्षाध्यक्ष पदका लागि प्रा.डा. काजीराम अधिकारी, प्रा.डा. कृष्ण पोखरेल, प्रा.डा. रोविन मास्के र प्रा.डा. शिवेन्द्र झा छनोट भएका छन् । यस्तै, रजिस्ट्रार पदका लागि डा. अरुण कुमार सिंह, प्रा.डा. अशोक कुमार झा, धरणीधर बराल, प्रा.डा. शमशेर श्रेष्ठ र सागर कुमार ताम्रकार अन्तर्वार्ताको सूचीमा परेका छन् ।

अस्पताल निर्देशक पदका लागि भने प्रा.डा. अशोक कुमार यादव, डा. इन्द्र कुमार लिम्बु, डा. मधुर बस्नेत, डा. शेहराज अहमद खान र डा. भिम्मी सिंह छनोट भएका छन् ।

प्रतिष्ठानले यसअघि तीनवटै पदका लागि पहिलोपटक आवेदन आह्वान गरेको थियो । त्यस क्रममा रजिस्ट्रार पदका लागि १८ जना, अस्पताल निर्देशक पदका लागि १४ जना र शिक्षाध्यक्ष पदका लागि ४ जनाले आवेदन दिएका थिए ।

प्रतिष्ठानका अनुसार छनोट भएका उम्मेदवारको अन्तर्वार्ता भदौ १० गते बुधबार उपकुलपतिको कार्यालयमा हुनेछ । अस्पताल निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि ११ बजेसम्म, रजिस्ट्रार पदका उम्मेदवारको बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्म र शिक्षाध्यक्ष पदका उम्मेदवारको दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने जनाइएको छ ।

लामो समयदेखि रिक्त रहेका प्रतिष्ठानका महत्वपूर्ण पदमा पदाधिकारी नियुक्तिका लागि प्रक्रिया अघि बढेसँगै अब अन्तर्वार्तापछि सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।