सुनसरी । आगामी फागुनमा कोशी प्रदेशमा आयोजना हुने १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी सुरु गरिएको छ ।
प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले कोशी प्रदेशअन्तर्गतका खेलमैदान तथा रंगशालाको अवस्थाबारे आइतबारबाट स्थलगत अध्ययन थालिएको हो । यसैक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोष सहितको टोलीले आइतबार सुनसरीको इटहरीस्थित प्रादेशिक रंगशाला र झापाको मेची रंगशालाको स्थलगत निरीक्षण गरेको छ ।
टोलीले रंगशालामा उपलब्ध खेल पूर्वाधार, मैदानको अवस्था, दर्शक तथा खेलाडीका लागि आवश्यक सुविधा र कुन खेलका लागि कुन स्थान उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी लिएको हो ।
सदस्य–सचिव घोषले प्रतियोगितामा समावेश हुने खेललाई सहज रूपमा सञ्चालन गर्न पहिलो चरणमा प्रदेशका प्रमुख खेल पूर्वाधारको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताए । इटहरीको प्रादेशिक रंगशालामा एकैपटक करिब एक दर्जन खेल सञ्चालन गर्न सकिने सम्भावना रहेको भन्दै घोषले रंगशालालाई वर्षभरि खेल गतिविधि सञ्चालन हुने गरी विकास गर्ने योजना रहेको बताए ।
उनका अनुसार राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरेर मात्रै रंगशालाको उपयोग गर्नेभन्दा नियमित रूपमा विभिन्न प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन हुने वातावरण बनाउन आवश्यक पूर्वाधार र व्यवस्थापनमा समेत ध्यान दिइनेछ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हाल ६ वटा खेल विधा समावेश हुँदै आएका छन् ।
तर, कोशी प्रदेशमा प्रतियोगिता आयोजना गर्ने क्रममा विद्यालयस्तरमा लोकप्रिय तथा सम्भावना भएका अन्य केही खेल विधा थप्ने विषयमा समेत छलफल गरिने घोषले बताए । आगामी १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमा आयोजना हुँदैछ ।











