इटहरी । इटहरीस्थित आइडियल स्पोर्ट्स एकेडेमीले आफ्ना प्रशिक्षार्थी खेलाडीको वर्षभरको प्रदर्शनलाई मूल्यांकन गर्दै ‘उदीयमान खेलाडी वर्ष’ र ‘वर्षको उत्कृष्ट खेलाडी’ अवार्ड सुरु गरेको छ।
एकेडेमीमा वर्षभर सञ्चालन भएका प्रशिक्षण तथा खेल गतिविधिमा खेलाडीले देखाएको प्रदर्शन, मेहनत, अनुशासन, निरन्तरता र खेल कौशलका आधारमा अवार्ड प्रदान गर्न थालिएको हो।
यस वर्षको आइडियल स्पोर्ट्स एकेडेमी उदीयमान खेलाडी वर्षको अवार्ड आरम्भ बिष्टले प्राप्त गरेका छन्।

प्रशिक्षणका क्रममा निरन्तर सुधार गर्दै उत्कृष्ट सम्भावना बोकेको खेलाडीका रूपमा आफूलाई प्रस्तुत गरेकाले उनलाई अवार्ड प्रदान गरिएको एकेडेमीले जनाएको छ।
त्यस्तै, आइडियल स्पोर्ट्स एकेडेमी वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिवश बिष्टले प्राप्त गरेका छन्। वर्षभर उत्कृष्ट प्रदर्शन, नियमित प्रशिक्षण, मेहनत र खेलप्रतिको समर्पणका आधारमा उनलाई उत्कृष्ट खेलाडी छनोट गरिएको हो।
एकेडेमीले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै खेलाडीलाई थप मेहनत र उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गर्ने उद्देश्यले अवार्डको सुरुवात गरेको जनाएको छ।
यसले प्रशिक्षार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नसमेत सहयोग पुग्ने एकेडेमीको विश्वास छ।
आइडियल स्पोर्ट्स एकेडेमीका अनुसार आगामी वर्षहरूमा पनि प्रशिक्षार्थी खेलाडीको वर्षभरको प्रदर्शन, अनुशासन, निरन्तरता र खेल कौशलका आधारमा उदीयमान खेलाडी वर्ष र वर्षको उत्कृष्ट खेलाडी अवार्डलाई निरन्तरता दिइनेछ।











