सुनसरी । नेपाली काँग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आज (बुधबार) बिहान बसेको नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले नेकपा (एमाले) का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए।
काँग्रेसले गत बुधबार सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो। काँग्रेसले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि सोमबार एमाले र नेकपाबीचमा सत्ता सहकार्यको गठबन्धन बनेको थियो । सोही अनुसार मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद हेरफेर गर्दै नेकपालाई सरकारमा सहभागी गराएर मन्त्री नियुक्त गरेका थिए ।
काँग्रेस संसदीय दलको बैठकमा सरकार छाड्नुको कारण, सरकारमा रहँदा गरेका कामको समीक्षासहितको बजेट सन्तुलन मिलाउने विषयबारे पनि छलफल भएको थियो।
प्रमुख सचेतक तामाङले सरकारका अर्थमन्त्रीले नै प्रदेश सभामा एक अर्ब बराबरको बजेट सन्तुलन मिलाउनेबारे जनाएको प्रतिबद्धताको विषयलाई लिएर पनि बैठकमा छलफल भएको जानकारी दिए।
समर्थन फिर्ता लिएसँगै काँग्रेस कोशी प्रदेश सभामा प्रतिपक्षमा पुगेको छ। कोशी प्रदेशमा काँग्रेसका २९ जना सांसद रहेका छन्।











