विराटनगर । नेकपाले कोशी प्रदेश सरकारमा पठाउने थप एक जना मन्त्रीको पनि नाम टुङ्गो लगाएको छ । सरकारमा राजन किराँतीलाई पठाउने की गीता तिम्सिनालाई पठाउने भन्ने विषयमा पनि टुङ्गो लगाएको छ। नेकपाले गीतालाई मन्त्रीको रूपमा पठाउने निर्णय गरेको हो । यो सँगै नेकपाले तीन जना महिलालाई मन्त्रीको रूपमा पठाउने निर्णय गरेको हो । नेकपाले इलामकी खिनु लङ्वा, मोरङकी गीता तिम्सिनालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो ।
यस्तै सपना दर्जीलाई राज्य मन्त्रीको रूपमा कोशी प्रदेश सरकारमा पठाउने निर्णय गरेको नेकपा श्रोतले जनाएको छ । यसै गरी कोशी प्रदेश सरकारमा जीवन आचार्य र गोम्वु शेर्पा पनि मन्त्रीका रूपमा सहभागी हुने छन् । मन्त्रालयका विषयमा भने अहिले छलफल जारी छ । मुख्यमन्त्री हिक्मत कार्की सहित अहिले नेकपाका नेताहरू छलफलमा रहेका छन् । केही बेरमा मन्त्रालय पनि टुङ्गो लगाउने छ । यस अघि नै नेकपाले ४ मन्त्रालय पाउने सहमति भएको छ।
को को कुन मन्त्री ?
मन्त्रीहरूको टुङ्गो लागेसँगै मन्त्रालय बाँडफाँड पनि टुङ्गो लागेको छ । नेकपाको तर्फबाट खिनु लङ्गवा पर्यटन बन तथा वातावरण मन्त्री बन्ने छन् । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रीमा जीवन आचार्य नियुक्त हुने छन् । यस्तै गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालय र गोम्बु शेर्पाले आन्तरिक मामिला मन्त्रालयको नेतृत्व गर्ने छन् ।
यस अघि सामाजिक विकास मन्त्री भएका एमालेका रामप्रसाद महतोले उद्योग कृषि तथा सहकारी मन्त्रालयको नेतृत्व गर्ने छन् । आन्तरिक मामिला मन्त्री इन्द्रमणी पुराजुली भने स्वास्थ्य मन्त्री बन्ने छन् । यस्तै राज्यमन्त्री उमाकान्त गौतम स्वास्थ्य राज्यमन्त्री बन्ने छन् ।











