विराटनगर  । कोशी प्रदेश सरकार पुनर्गठनका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीका बिचमा मन्त्रालय बाँडफाँडको बिषय टुङ्गो लागेको छ । पटक पटकको छलफल पछि नेकपालाई ४ वटा मन्त्रालय दिन नेकपा एमाले सहमत भएको छ ।

 यस अघि प्रदेश सभामा रहेका सदस्यको आधारमा मन्त्रालय बाँडफाँड हुने भन्दै एमालेले तीन वटा मात्रै मन्त्रालय दिने अडान राखेको थियो । तीन वटा मन्त्रालय लिएर सरकारमा सहभागी नहुने अडान नेकपाले राखेपछि पटक पटकको बैठक विना निष्कर्ष टुङ्गिएको थियो ।

 मन्त्रालय बाँडफाँडको विषयमा विवाद भएपछि टुङ्गो लगाउने मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा संसदीय दलका नेता इन्द्र आंवोलाई जिम्मेवारी दिइएको थियो । दुई नेताहरूका बिचमा भएको छलफलमा एमालेले नेकपालाई ४ वटा मन्त्रालय दिने सहमति जनाएको छ ।

श्रोतका अनुसार नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने छ । यस्तै अहिले भएका मन्त्रालयबाट मन्त्रालय टुक्राएर एउटा मन्त्रालय नेकपालाइ दिने तयारी भएको छ । 

कोशीमा अहिले मुख्यमन्त्री तथा मन्त्री  परिषद्को कार्यालय सहित नौ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय टुक्राएर १० पुर्‍याउने समेत सहमति भएको छ । सहमति अनुसार उद्योग कृषि तथा सहकारी मन्त्रालयबाट उद्योग, सामाजिक विकास मन्त्रालयबाट सस्कृती र पर्यटन बन तथा बाताबरणम मन्त्रालयबाट पर्यटन झिकेर उद्योग पर्यटन तथा सस्कृती मन्त्रालय बनाउने तयारी रहेको छ । 

नयाँ बनेको मन्त्रालय नेकपालाई दिने तयारी भएको श्रोतले जनाएको छ । यस अघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय टुक्रा नपार्ने अडान राख्दै आएका थिए । तर पछिल्लो समय भएको छलफल पछि मन्त्रालय टुक्राउने तयारी भएको छ । 

मन्त्रालय बाँडफाँड टुङ्गो लागे पनि अन्तिम निर्णय भने भइसकेको छैन । बाँडफाँडका विषयमा एमाले अध्यक्ष केपी ओलीलाई जानकारी गराएर मात्रै अन्तिम निर्णय गर्ने तयारी रहेको छ । 

पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो भने पार्टी अध्यक्ष ओलीसँगको छलफल पछि लाग्ने बनाए । उनले भने , यहाँको छलफल किनारा लाग्न लागेको छ । अध्यक्षलाई यस विषयमा रिपोर्टीग गरेपछि उहाँको सुझावका आधारमा टुुंगो लाग्छ । 

नेकपा भित्र पनि मन्त्रालय बाँडफाँड 

कोशी प्रदेश सरकार पुनर्गठनका विषयमा नेकपा भित्र पनि मन्त्रालय बाँडफाँड भएको छ ।   नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेकपा भित्र पनि मन्त्रालय बाँडफाँड भएका हो । 

दलको अस्तित्व र शक्ति सन्तुलनका आधारमा मन्त्रालय बाँडफाँड गर्ने नेताहरूले बताएका छन् । कोशी प्रदेशसभामा हाल नेपाली कम्युनिस्ट पार्टीका कुल १७ जना सांसद छन्, जसमा पूर्व माओवादी केन्द्रका १३ र पूर्व एकीकृत समाजवादीका ४ जना रहेका छन् ।

 पार्टी एकीकृत भए पनि साबिकको नेकपा एसले १ जना र माओवादी केन्द्रले ३ जना मन्त्री पाउने गरी आन्तरिक भागवण्डा मिलाइएको छ । नयाँ मन्त्रीहरूको नामावली टुङ्गो लगाउन नेकपाले शनिवार दिउँसो २ बजे संसदीय दलको बैठक समेत बोलाएको छ ।

 प्रदेशसभा सचिवालयमा बस्ने उक्त बैठकले मन्त्री बन्नेहरूको नाम र सरकारमा पार्टीको भूमिकाबारे ठोस निर्णय लिने नेकपाकी प्रमुख सचेतक विद्या चाम्लिङले जानकारी दिइन् ।