इटहरी । इटहरीका विद्यालयहरूमा पठनपाठन भइरहेको इटहरीको सेरोफेरो नामक पुस्तक तथ्यहीन, असत्य र भ्रामक विषयवस्तु राखेर प्रकाशन तथा पठनपाठन भएको पाइएको छ । कपोलकल्पित र गलत सन्देश दिने सामग्री राखिएको पुस्तकको पठनपाठन अविलम्ब बन्द गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।  

इटहरीका अग्रज तथा बुद्धिजीवीहरुले  संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै कक्षा ८ मा स्रोतसामग्रीका रूपमा पढाइँदै आएको पुस्तकमा इटहरीको इतिहास, भूगोल, सामाजिक व्यवस्था र भाषामा गम्भीर त्रुटिहरू रहेको उल्लेख गरिएको छ  । 

आज इटहरीका बौद्धिक व्यक्तिहरु कृष्णविनोद लम्साल, लेखनाथ घिमिरे, कृष्णप्रसाद अधिकारी, बद्रीप्रसाद पोख्रेल र लक्ष्मण निरौलाले  संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै तथ्यहीन विषयवस्तु समावेश पुस्तकको पठनपठान रोक लगाउन इटहरी उपमहानगरपालिकासँग माग गरेका छन् । 

जारी गरिएको संयुक्त विज्ञप्तीमा इतिहास र तथ्य तोडमोड गरि प्रस्तुत गरिएको दावी गरिएको छ ।  इटहरीको सबैभन्दा पुरानो सरस्वती सतन  स्कूलको नाम बिगारेर सरस्वती सदन लेखिएको छ। त्यस्तै, ३० को दशक (५६ वर्षअघि) धरान धनकुटा हिले बाटो बनेको, सन् १९८० (४४ वर्षअघि) इटहरी बसपार्कको स्तरोन्नति भएको तथा २०२०, २०३० मा इटहरीमा उच्च मावि स्थापना भएको जस्ता गलत तथ्य प्रस्तुत गरिएको विज्ञप्तीमा भनिएको छ ।

इटहरीको सञ्चार, साहित्य, शिक्षा, व्यवसाय र सामाजिक संस्थाको उपहास गरिएको तथा महाकाव्यकार पीताम्बर भोला लम्साल, धरणीधर दाहाल र जिवी लुगुन जस्ता व्यक्तित्वहरूको नाम समावेश नगरेर अपमान गरिएको उल्लेख छ।

पुस्तकमा मानक भाषा र व्याकरणको पालना नगरिएको र कभर पृष्ठमै सामाग्री लेखेर अशुद्ध भाषा प्रस्तुत गरिएको भनिएको छ।

इटहरीको सेरोफेरो स्रोत सामग्री नामको पुस्तक डा. वेणुप्रसाद सिटौला र मणि पौडेल लेखक तथा तेजप्रसाद सुवेदीसहित आठ जना सम्पादक रहेको उल्लेख छ । पुस्तकको मूल्य ३०२ रुपैयाँ तोकेर विद्यार्थीहरूबाट असुल भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। पुस्तकको प्रकाशक मानसरोवर नेपाल कीर्तिपुर, काठमाडौँ र मुद्रक हिमाल एकेडेमी ललितपुर रहेका छन्।

इटहरी उपमहानगरपालिकाले लागु गरेको पुस्तक हो भन्ने भ्रम सिर्जना गरी विद्यालयहरूमा पढाइरहँदा पनि उपमहानगरपालिकाको नेतृत्व र शिक्षा शाखा मौन बसेकोमा बौद्धिक व्यक्तिहरुले आश्र्चय प्रकट गरेका छन् । उनीहरुले यस्ता कपोलकल्पित र गलत सन्देश दिने पुस्तकको पठनपाठन अविलम्ब बन्द गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । 

आगामी दिनमा इटहरीको माटो र स्थानीय परिवेश सुहाउँदो पाठ्यक्रम तयार गर्दा विषयविज्ञ र स्थानीय सरोकारवालाहरूसँग परामर्श लिनसमेत सुझाव दिइएको छ।

book (1)

book (2)