सुनसरी । इटहरीका १० हजार बालबालिकाको आँखाको अवस्था परीक्षण गर्ने लक्ष्यसहित रोटरी क्लब अफ इटहरीले वर्षभरि आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ । क्लबले इटहरीका कम्तीमा २२ वटा विद्यालय तथा समुदायमा आँखा परीक्षण शिविर सञ्चालन गरी बालबालिकामा देखिने आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्ने तयारी गरेको हो ।

क्लबले बिहिबार विराटनगर आँखा अस्पतालसँग सम्झौता गरी १४ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

विद्यालय र समुदायमै पुगेर ठूलो संख्यामा बालबालिकाको आँखा परीक्षण गर्ने र परीक्षणबाट समस्या पहिचान भएका बालबालिकालाई आवश्यक उपचारको पहुँचमा पुर्‍याउने अभियानको मुख्य उद्देश्य रहेको क्लबका अध्यक्ष चेतन धमलाले जानकारी दिए ।

अभियान अन्तर्गत यही भदौ ६ गते शनिबारदेखि प्रत्येक महिनाको पहिलो शनिबार इटहरी आँखा अस्पतालमा बालबालिकाको निःशुल्क आँखा परीक्षणसमेत गरिनेछ । आवश्यकताअनुसार दृष्टि परीक्षण, ल्याब परीक्षण, औषधि, चस्मा तथा आँखाको दृष्टि बाङ्गिने (स्क्विन्ट) र मोतियाबिन्दु लगायत समस्याको उपचार गरिने क्लबले जनाएको छ । धमलाका अनुसार विद्यालय र समुदायमा पुगेर परीक्षण गर्दा आँखाको समस्या भएर पनि थाहा नपाएका बालबालिकालाई पहिचान गर्न सहज हुनेछ ।

आर्थिक अभाव वा जानकारीको कमीका कारण सामान्य समस्या पनि समयमै उपचार हुन नसक्दा जटिल बन्न सक्ने भएकाले अभियानलाई व्यापक बनाइएको उनले बताए ।

क्लबले वर्षभरिमा कम्तीमा २२ वटा विद्यालय तथा समुदायमा शिविर सञ्चालन गर्ने र ती शिविरमार्फत १० हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण गर्ने लक्ष्य राखेको छ । परीक्षणका क्रममा उपचार आवश्यक देखिएका कम्तीमा एक सय बालबालिकालाई उपचार सेवा उपलब्ध गराउने लक्ष्यसमेत क्लबले लिएको छ ।

बालबालिकाको आँखाको समस्या पहिचानसँगै अभिभावकमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने र विद्यालयस्तरमा नियमित आँखा परीक्षणको आवश्यकता बुझाउने अभियानको अर्को उद्देश्य रहेको क्लबले जनाएको छ ।

आँखामा देखिने समस्या पढाइ, सिकाइ र बालबालिकाको दैनिक गतिविधिसँग प्रत्यक्ष जोडिने भएकाले समयमै परीक्षणलाई प्राथमिकता दिनुपर्ने क्लबको भनाइ छ ।

रोटरी क्लबले विद्यालय, स्थानीय सरकार, आँखा अस्पताल, सञ्चारमाध्यम तथा समुदायसँगको सहकार्यमा अभियानलाई प्रभावकारी बनाउने जनाएको छ ।

क्लबका अनुसार १० हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण गर्ने लक्ष्य केवल संख्या पूरा गर्ने अभियान नभई समस्या पहिचान भएका बालबालिकालाई उपचारको पहुँचमा पुर्‍याउने दीर्घकालीन प्रयास भएको अस्पतालका ब्यवस्थापक कुमार पृथुले बताए ।