इटहरी । इटहरीस्थित प्रिमियर ग्लोबल स्कुलले कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १० विद्यार्थीलाई ‘एकेडेमिक एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै सम्मान गरेको छ।

२०८२ साल जेठमा सम्पन्न कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० स्थान हासिल गर्ने विद्यार्थीलाई उनीहरूको मेहनत, लगनशीलता, समर्पण र शैक्षिक उपलब्धिको कदर गर्दै नगद पुरस्कार, प्रमाणपत्र, खादा तथा अध्ययन सामग्री प्रदान गरिएको हो।

सम्मानित विद्यार्थीमध्ये प्रथम स्थान हासिल गरेकी प्रशंसा आचार्यलाई १० हजार रुपैयाँ, द्वितीय स्थानका प्रविन पुलामी मगरलाई ८ हजार रुपैयाँ, तृतीय स्थानकी इक्षा नेम्बाङलाई ६ हजार रुपैयाँ, चौथो स्थानकी दिपिका श्रेष्ठलाई ४ हजार रुपैयाँ र पाँचौँ स्थानका केदार कार्कीलाई ३ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।

त्यसैगरी छैटौँ स्थानमा एलिशा भुजेल, सातौँ स्थानमा प्राप्ति बस्नेत, आठौँ स्थानमा सोहम कुमार माझी, नवौँ स्थानमा वेदनिधि अधिकारी र दशौँ स्थानमा कृषा कार्कीलाई पनि नगद पुरस्कार, प्रमाणपत्र, खादा तथा अध्ययन सामग्री प्रदान गरिएको थियो।ppppp

कार्यक्रममा उत्कृष्ट विद्यार्थीका अभिभावकलाई समेत खादा लगाएर सम्मान गरिएको थियो। आफ्ना छोराछोरीले हासिल गरेको शैक्षिक उपलब्धिको सम्मानमा अभिभावकको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको विद्यालयले जनाएको छ। विद्यार्थीको सफलतामा विद्यालयसँगै अभिभावकको निरन्तर साथ, सहयोग र प्रेरणाको महत्वपूर्ण भूमिका रहने भएकाले अभिभावकलाई समेत सम्मान गरिएको विद्यालयको भनाइ छ।

कार्यक्रममा विद्यालयका प्राचार्य सुभाष लुइँटेलले विद्यार्थीको भविष्य निर्माणमा विभिन्न पक्षले भूमिका निर्वाह गरे पनि शैक्षिक उत्कृष्टता त्यसको प्रमुख आधार रहेको बताए। उनले विद्यार्थीले अध्ययनलाई उच्च प्राथमिकतामा राख्दै ज्ञान र सीप हासिल गर्न निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिए।

परीक्षालाई वर्षभरि हासिल गरेको ज्ञान, बुझाइ र सिकाइ प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँदै प्राचार्य लुइँटेलले विद्यार्थीले हासिल गरेको उत्कृष्ट प्रदर्शनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा राखे।primer 1

प्रिमियर ग्लोबल स्कुलले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीमा अनुशासन, व्यावहारिक ज्ञान, सीप, आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षताको विकासलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। विद्यार्थीलाई परीक्षामा राम्रो अंक ल्याउने उद्देश्यमा मात्र सीमित नराखी उच्च शिक्षा, रोजगारी तथा व्यावसायिक जीवनका लागि सक्षम र प्रतिस्पर्धी बनाउने उद्देश्यअनुरूप विद्यालयले अध्ययन–अध्यापनका लागि अनुकूल शैक्षिक वातावरण निर्माण गर्दै आएको जनाएको हो।

विशेषगरी हस्पिटालिटी म्यानेजमेन्ट शिक्षाको क्षेत्रमा विद्यालयले पूर्वी नेपालमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको जनाएको छ। सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइ, व्यावसायिक सीप, उद्योगसँगको सम्बन्ध तथा अतिरिक्त शैक्षिक गतिविधिमार्फत विद्यार्थीलाई भविष्यको करियरका लागि तयार पार्ने प्रयास भइरहेको विद्यालयको भनाइ छ।

विद्यार्थीको मेहनत र शैक्षिक उपलब्धिलाई सम्मान गर्नुका साथै अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले विद्यार्थीमा थप उत्साह, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विद्यालयको अपेक्षा छ।

विद्यालयले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रोत्साहन तथा सम्मान गर्दै शैक्षिक उपलब्धिको कदर गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।