विराटनगर । कोशी प्रदेश सरकारमा कसको नेतृत्वमा सहभागी हुने भन्ने विषयले नेपाली कम्युनिस्ट पार्टी भित्र विवाद उत्पन्न भएको छ । सरकारको नेतृत्व गर्ने विषयमा विवाद हुँदा नेकपालाई मन्त्री छान्न सकस देखिएको छ ।
पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा जानका लागि पूर्व सभामुख तथा मन्त्री बाबुराम गौतम, पूर्व मन्त्री दुर्गाप्रसाद चापागाईँ र पूर्व मन्त्री जीवन आचार्यले इच्छा जाहेर गरेका छन् । उनीहरू तीन जनाले पार्टीको तर्फबाट नेतृत्व गरेर जाने दाबी पेस गरेपछि कसको नेतृत्वमा सरकारमा जाने भन्ने बिषय नेकपामा पेचिलो बनेको छ । तीनै जनाले सरकारमा जानका लागि तीव्र लविंग गरिरहेका छन् ।
पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जान चाहने गौतम पूर्व सभामुख हुन् । २०८० साल साउनमा काँग्रेस नेकपाको सरकार गठनका बेला बहुमत नपुग्ने भएपछि उनलाई सभामुखबाट राजीनामा गराइएको थियो । सभामुखबाट राजीनामा गरेर उनी उद्धव थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए । तर थापा नेतृत्वको सरकालाई सर्वोच्चले बदर गरेपछि उनी पनि मन्त्रीबाट हटेका थिए । उनले पार्टीको निर्देशनमा सभामुख पद त्यागेको भन्दै मन्त्री हुनु पाउनु पर्ने माग राख्दै आएका छन् ।
पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेर जाने दाबी पेस गरेका दुर्गाप्रसाद चापागाईँ यस अघि भौतिक पूर्वाधार मन्त्री भएका थिए । उनी पूर्व अर्थमन्त्री वर्षमान पुनको सचिवालयमा बसेर समेत काम गरेका हुन् । उनलाई कोशीमा तत्कालीन नेकपा माओवादी केन्द्रमा फरक समूहको नेतृत्व गर्ने नेताको रूपमा चिनिन्छन् । उनले पनि पार्टी भित्र मन्त्री पाउनु पर्ने दाबी गरेको श्रोतको भनाई छ ।
पार्टीका तर्फबाट आफ्नो नेतृत्वमा सरकारमा जाने विषयमा जीवन आचार्यले पनि दाबी पेस गरेका छन् । उनी पार्टी संयोजक पुष्पकमल दाहालका ज्वाँई समेत हुन् । उनले संयोजकको ज्वाइँका नाताले नभई क्षमताका आधारमा सरकारमा जाने बताए । उनले भने, म निर्वाचित प्रदेश सभा सदस्य हुँ ।
यस अघि सरकारमा रहँदा मैले आफ्नो क्षमता पनि देखाएको छु । त्यसैले सरकारमा जानका लागि मैले पनि दाबी पेस गरेको हुँ । उनले पार्टीले गरेको निर्णय आफूलाई स्वीकार्य हुने भन्दै पार्टीले आफ्नो पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले भने, पार्टी संयोजकसँग मेरो नाम जोड्न जरुरी छैन । म आफै पनि क्षमताका आधारमा मन्त्री हुने दक्षता राख्छु ।











