सुनसरी — देवानगञ्ज गोलीकाण्डमा घाइते भएर विराट अस्पतालमा उपचाररत तीन जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।
गत साउन १० को राति देवानगञ्ज–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २५ वर्षीय सुनील कुमार मेहता, देवानगञ्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहता उपचारपछि डिस्चार्ज भएका थिए ।
विराट अस्पतालका सर्जन डा. अनुप पोखरेलका अनुसार तीनै जनाको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य भएपछि शुक्रबार साँझ डिस्चार्ज गरिएको हो ।
उनीहरू साउन १० गतेदेखि अस्पतालमा उपचाररत थिए । २५ वर्षीय सुनीलको बायाँ घुँडामुनिको पछाडिको भागमा गोली लागेको थियो ।
१८ वर्षीय अमितकुमारको कम्मरको अगाडिबाट छिरेको गोली पछाडिबाट निस्किएको थियो ।
दुवै जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । त्यस्तै, २६ वर्षीय सुनीलको बायाँ हातको कुहिनामा गोली लागेको थियो ।
उनको पनि सफल शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य रहेकाले अस्पतालबाट डिस्चार्ज गरिएको डा. पोखरेलले बताए ।
देवानगञ्जको कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
घटनामा गोली लागेर १० जना घाइते भएका थिए । तीमध्ये ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको छ ।
यसैबीच घाइतेहरु उपचार पश्चात घर फर्किएपछि छानबिन टोली कप्तानगञ्ज पुगेको छ ।
गोलीकाण्डको बारेमा उनीहरुसँग बयान लिन टोली कप्तानगञ्ज पुगेको समितिका सदस्य प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
देवानगञ्ज र सिरहामा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।











