विराटनगर । कोशी प्रदेशको सरकार पुनर्गठनका विषयमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका बिचमा छलफल सुरु भएको छ । सरकार पुनर्गठनका विषयमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्कत कार्की, एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई, एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारी सहित मुख्यमन्त्रीले छलफल थालेका हुन् । आज भएको छलफलमा नेकपाको तर्फबाट संसदीय दल कोशीका नेता इन्द्र आंवो, पूर्व मुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी कोशीका इन्चार्ज राजेन्द्र राई, प्रदेश अध्यक्ष हर्क नेम्बांग मिक्सो छलफलमा सहभागी भएका थिए । मुख्यमन्त्री निवासमा भएको छलफलमा सरकार सञ्चालनका विषयमा छलफल भएको हो । सरकार पुनर्गठनका विषयमा पहिलो चरणको औपचारिक छलफल सुरु भएको नेकपा प्रदेशका अध्यक्ष हर्क नेम्बांग मिक्सोले बताए । उनले अबको सरकारले गर्नु काम र एजेन्डाका बारेमा छलफल भएको बताए ।
नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्र आंवोले सरकारको न्यूनतम साझा कार्यक्रम, बजेट पुनरावलोकन र मन्त्रालयको सङ्ख्याका विषयमा छलफल भएको बताए । उनले भने, अहिले पहिलो चरणको छलफल भएको हो । अर्को बैठकमा सबै कुरा टुङ्गोमा पुग्ने गरी आ आफ्ना दलका बिचमा छलफल गरेर आउने सहमति भएको छ ।
बैठकमा संसदमा पेस भएको भाषा विधेयक, र दलित विधेयकका विषयमा पनि छलmल भएको आंवोले बताए । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रदेशको पुन नामकरणका विषयमा पनि छलफल गरौँ भन्ने प्रस्ताव गएको थियो । एमालेले भने यो बिषय प्रदेश तहमा मात्रै गरेर नहुने भन्दै केन्द्रीय तहमै छलफल हुनु पर्ने बताएको छ ।
अर्को बैठक सोमबार बस्ने गरी सहमति भएको छ । सोमबार सम्ममा हामी आन्तरिक तयारी सक्छौ । त्यस पछि सरकार पुनर्गठन र मन्त्रीहरू पठाउने संसदीय दलका नेता आंवोले बताए ।
नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका बिचमा प्रदेशको सरकार सञ्चालनका विषयमा साउन ९ गते तीन बुँदे सहमति भएको थियो । सहमति भएको लामो समय बित्दा पनि मुख्यमन्त्री फेर्ने विषयमा एमाले भित्र कुरा नमिल्दा नेपाली कम्युनिस्ट पार्टीसँग सरकार सञ्चालनका विषयमा छलफल अगाडि बढ्न सकेको थिएन । केही दिन एमाले प्रदेश इन्चार्ज शेरधन राई र नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्र आंवोका बिचमा सरकार पुनर्गठनका विषयमा छलफल भए पनि एमाले भित्रको आन्तरिक समस्यामा नपार्ने भन्दै नेकपाले आन्तरिक विवाद मिलाएर आउन भनेको थियो ।
केही दिन अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटघाटमा तत्कालका लागि मुख्यमन्त्री हिक्मत कार्कीकै नेतृत्वमा नै सरकारको निरन्तरता हुने सहमति जुटेपछि आजबाट नेकपासँग छलफल सुरु भएको हो ।











