सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका अर्का युवाको उपचारको क्रममा निधन प्रति जिल्ला प्रशासन कार्यालय सुनसरीले दुःख व्यक्त गरेको छ ।

प्रहरीको गोली लागेर गम्भिर भएका २२ वर्षका रविन्द्र मेहताको परिवारलाई पनि अन्य मृतक परिवार जस्तै राहत तथा सहायता उपलब्ध गराउने सुनसरी प्रशासनले जानकारी दिएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले आज एक सार्वजनिक अपिल जारी गर्दै अन्य मृतकको परिवारलाई झै राहत तथा सहायता उपलब्ध गराउने प्रतिवद्दता व्यक्त गरेका छन् । 

जारी अपिलमा भनिएको छ, यसअघि सोही घटनामा निधन भएका पूर्व मृतक परिवारसँग माननीय गृहमन्त्रीज्यूबाट भएको सम्झौता अनुरुप नै मेहताको परिवारलाई पनि राहत तथा सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको छ।

गहिरो शोकको यस घडीमा शान्ति सुरक्षा र वातावरणलाई थप नबिथोली संयम र सहिष्णुता कायम राख्न तथा धैर्यता अपनाउन जिल्ला प्रशासन कार्यालय, सुनसरीले सम्बद्ध सबै पक्षसँग हार्दिक अपिल गरेको छ।

गत साउन १० गते राति देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा भएको दुःखद् घटनामा गम्भीर घाइते भएका मेहताको काठमाडौँस्थित त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारकै क्रममा आज(मंगलबार) निधन भएको हो।

योसँगै घटनामा गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा घाइेत भएका अन्यको भने उपचार भइरहेको छ । 

cdo notice 3