सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएकाहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालहरूले जनाएका छन् ।

गत साउन १० मा दुई पक्षबीच भएको हिंसात्मक झडपका क्रममा प्रहरीको गोली लागेर १० जना युवा घाइते भएका थिए । 

घाइतेमध्ये दुई जनाको मृत्यु भइसकेको छ । आठ घाइतेमध्ये दुई जनाको काठमाडौं र ६ जनाको विराटनगरस्थित न्युरो र विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेमध्ये देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत छन्। विराटनगरको विराट नर्सिङ होममा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था जटिल बनेकाले उनलाई एयर एम्बुलेन्समार्फत शुक्रबार काठमाडौं लगिएको थियो । 

चिकित्सकका अनुसार उनको बायाा तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेको थियो ।

विराटनगरमै नसाको शल्यक्रिया गरिए पनि थप विशेषज्ञ उपचार आवश्यक परेपछि काठमाडौं रेफर गरिएको उनका दाजु रोशन मेहताले जानकारी दिए । यस्तै, देवानगञ्ज–३ का १८ वर्षीय अमित यादव काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन् । 

विराटनगरको नोबेल शिक्षण अस्पतालबाट रेफर गरी नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार साँझ काठमाडौं लगिएको उनको बायाँ हात र कोखामा गोली लागेको चिकित्सकले बताएका छन् ।

विराटनगरस्थित न्युरो अस्पतालमा देवानगञ्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगञ्ज–३ का १८ वर्षीय अमलेश मेहता उपचाररत छन् ।

अस्पतालका अनुसार मिथिलेशको पेटमा गोली लागेको थियो । उनको शल्यक्रिया गरेर गोली निकालिएको र हाल आईसीयूमा उपचाररत छन् ।

चिकित्सकले उनको अवस्था मध्यम रहेको बताएका छन् । हरेरामको दुवै तिघ्राको बीच भागमा गोली लागेको थियो । शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पतालले जनाएको छ। 

lala bikram

अमलेशको बायाँ पिठ्युमा लागेको गोली पनि शल्यक्रियामार्फत निकालिएपछि अवस्था  सामान्य रहेको चिकित्सकले बताएका छन् ।

विराट नर्सिङ होममा देवानगञ्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगञ्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहता उपचाररत रहेको सांसद लालबिक्रम थापाले जानकारी दिए । 

थापाले सोमबार बिहान उक्त अस्पतालमा उपचारत उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । अस्पतालका अनुसार २५ वर्षीय सुनीलको बायाँ घुँडामुनिको पछाडिको भागमा गोली लागेको छ भने १८ वर्षीय अमितकुमारको कम्मरमा गोली लागेको थियो ।

दुवैको शल्यक्रिया सम्पन्न भइसकेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

२६ वर्षीय सुनीलको बायाँ हातको कुहिनामा गोली लागेको थियो ।

उनको पनि सफल शल्यक्रिया भइसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । 

उक्त घटनामा घाइते भएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहतालाई न्युरो अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

गम्भीर घाइते देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।

गृहमन्त्री सुदन गुरुङको उपस्थितीमा सरकार र पीडित पक्षबीच सहमति भएपछि दुवै मृतकका परिवारले शव बुझेर शुक्रबार राति अन्त्येष्टि गरिसकेका छन् ।