विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा एमाले भित्र किचलो भएपछि  एमालेबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको भेला बोलाइएको छ । नेकपा एमाले प्रदेश कमिटीले आज दिउँसो एक बजे  प्रदेश सभा सदस्यहरूलाई पार्टी कार्यालयमा बोलाइएको हो । 

पार्टी सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई दुई दिन अघि विराटनगर आएपछि मुख्यमन्त्री फेर्ने विषयमा तारान्तरा बैठकहरू भइरहेको छ । प्रदेश सभा सदस्यहरूलाई हिजो छुट्टा छुट्टै भेटेका इन्चार्ज राई, पार्टी को कोशी प्रदेश अध्यक्ष घनश्याम भण्डारी, सचिव राजकुमार भण्डारीले हिजो झापा मोरङ र सुनसरीका पार्टी अध्यक्ष र  इन्चार्जहरूसँग समेत छलफल गरेका थिए । छलफलपछि आजका लागि प्रदेश सभा सदस्यहरूको भेला बोलाइएको एमाले श्रोतले जनाएको छ ।

भेलामा बोलाइएका सांसदहरुदलाई मुख्यमन्त्री हिक्मत कार्कीका विरुद्ध हस्ताक्षर गराउने तयारी छ । एक प्रदेश सभा सदस्यले मुख्यमन्त्री कार्कीले राजीनामा नदिएपछि दलको नेता फेर्ने तयारी भएको बताए । 

उनले भने अहिले सम्म दलको नेता फेर्ने विषयमा हामीले हस्ताक्षर सङ्कलन गरिसकेका छैनौ । पार्टी कार्यालयमा बोलाएर त्यही हस्ताक्षर गराउने तयारी भएको हुन सक्छ । 

मुख्यमन्त्री फेर्ने लबिङमा लागेका प्रदेश सभा सदस्य होम थापाले दलको नेता फेर्ने बिषय पनि विकल्पमा रहेको बताए । उनले अहिले  दलको नेता फेर्ने विषयमा छलफल मात्रै भएको काम भने सुरु नभएको बताए । उनले भने, मुख्यमन्त्रीले राजीनामा दिनु भएन भने दलको नेता फेर्न पनि सकिन्छ । 

कोशी प्रदेशमा एमालेका उप सभामुख सहित ४० जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले दिउँसो एक बजेका लागि पार्टीले भेला बोलाएको बताए । उनले मुख्यमन्त्री र सरकारका विषयमा छलफलका लागि पार्टीले प्रदेश सभा सदस्यहरूलाई बोलाएको बताए । 

दलको नेता फेर्दैमा ढल्दैन सरकार 

तत्कालीन नेकपा माओवादीका प्रदेश सभा सदस्यको समर्थन सहितको हस्ताक्षर  र एमालेका प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएर हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री भएका हुन् ।  संविधानको धारा १६८९ ५ ० अन्तरगत मुख्यमन्त्री बनेका कार्कीलाई दलको नेताबाट हटाउँदैमा मुख्यमन्त्री पद जाँदैन । उनी दलको नेताको हैसियतमा मुख्यमन्त्री नभई प्रदेश सभामा बहुमत पुर्‍याउन सक्ने प्रदेश सभा सदस्यको हैसियतमा मुख्यमन्त्री भएका हुन् । 

दलको नेता फेर्दैमा मुख्यमन्त्री पद नजाने जान्दा जान्दै पनि एमालेले दलको नेता फेर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्कीसँग असन्तुष्ट एक प्रदेश सभा सदस्यले भने पद नगएपछि नैतिकताको प्रश्न भएकाले दलको नेता पनि फेर्न सकिन्छ । 

मुख्यमन्त्री कार्कीले भने दलको नेता फेरे पनि राजीनामा नदिने विषयमा अडान लिएका छन् । उनले आफूm निकटहरूसँग अविश्वासको प्रस्ताव ल्याए झेल्ने बताउँदै आएका छन् । उनी विरुद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने अवस्था छैन । एमालेले नै अविश्वासको प्रस्ताव ल्याए काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यहरूको समेत मत लिएर सरकार टिकाउने तयारीमा कार्की देखिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता इन्द्र आंवाले पनि सभा भित्र मुख्यमन्त्री फेर्ने बिषय प्रवेश गरे अकल्पिनिय निर्णय हुन सक्ने बताइसकेका छन् । उनले एमाले प्रदेश इन्चार्ज शेरधन राईसँगको छलफलमा एमालेले मुख्यमन्त्री टुङ्गो लगाएर आउन सुझाव दिएका थिए । सभा भित्र मुख्यमन्त्री फेर्ने विषयले प्रवेश पाए काँग्रेस पनि हिक्मत कार्कीको पक्षमा उभिन सक्ने देखिन्छ । 

कोशी प्रदेशमा काँग्रेसका २९ प्रदेश सभा सदस्य छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेश सभा सदस्य रहेका छन् । यस्तै राप्रपाका सभामुख सहित ६ जना प्रदेश सभा सदस्य रहेकामा दलका नेता समेत रहेका भक्ति प्रसाद सिटौला प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न गएका कारण ५ जना मात्रै सदस्य रहेका छन् ।  कोशीमा बहुमत पुर्याउन ४७ सिट आवश्यक पर्दछ ।