सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै निषेध आदेशको दायरा थप साँघुरो बनाएको छ।
यसअघि चार स्थानीय तहमा लागू गरिएको निषेध आदेश अब देवानगञ्ज र हरिनगर गाउँपालिकामा मात्रै कायम रहने भएको हो।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले सोमबार जारी गरेको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम सोमबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेध आदेश लागू रहनेछ।
यसअघि देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा निषेध आदेश लागू गरिएको थियो।
सुरक्षा अवस्थाको पछिल्लो समीक्षापछि भोक्राहा नरसिंह र कोशी गाउँपालिकाबाट निषेध आदेश हटाइएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार जिल्लामा विकसित पछिल्ला घटनाक्रम तथा सुरक्षा अवस्थाको समीक्षा गर्दा अधिकांश क्षेत्रमा अवस्था सामान्य बन्दै गएको पाइएकाले निषेध आदेशको दायरा घटाइएको हो।
यद्यपि देवानगञ्ज र हरिनगरमा अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको निष्कर्षसहित निषेध आदेशलाई निरन्तरता दिइएको छ।
निषेध आदेश लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, सभा, प्रदर्शन तथा शान्ति–सुरक्षामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ। प्रशासनले आदेशको पूर्ण पालना गर्न तथा सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।










