सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख बन्दै गएको निष्कर्ष निकाल्दै चार स्थानीय तहमा जारी निषेध आदेशलाई सोमबार बिहान १० बजेसम्म निरन्तरता दिएको छ।

यसअघि जिल्लाका १० स्थानीय तहमा लागू गरिएको निषेध आदेश आइतबारदेखि देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्र सीमित गरिएको थियो।

सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भइनसकेको निष्कर्षसहित प्रशासनले ती चार स्थानीय तहमा निषेध आदेशलाई थप समय कायम राखेको हो।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले आइतबार साँझ जारी गरेको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आइतबार साँझ ७ बजेदेखि सोमबार बिहान १० बजेसम्म ती चार गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेध आदेश लागू रहनेछ।

प्रशासनका अनुसार जिल्लामा विकसित पछिल्ला घटनाक्रम र सुरक्षा अवस्थाको समीक्षा गर्दा अधिकांश क्षेत्रमा अवस्था सामान्य बन्दै गएको पाइएपछि अन्य स्थानीय तहबाट निषेध आदेश हटाइएको हो।

यद्यपि संवेदनशील मानिएका चार गाउँपालिकामा भने शान्ति–सुरक्षा पूर्ण रूपमा सुनिश्चित नभएकाले आदेशलाई निरन्तरता दिइएको जनाएको छ।

निषेध आदेश लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, सभा, प्रदर्शन तथा शान्ति–सुरक्षामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ। प्रशासनले आदेशको पूर्ण पालना गर्न तथा सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।