सुनसरी । सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान तथा सहअस्तित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले इटहरीमा आइतबार बृहत् सद्भाव र्‍याली निकालिएको छ ।

र्‍यालीमा २८ भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक संघ–संस्थाको सक्रिय सहभागिता रहेको थियो ।

विभिन्न जातजाति, धर्म, भाषा र समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले इटहरीमा सामाजिक सद्भावप्रतिको साझा प्रतिबद्धता झल्काएको आयोजकको भनाइ छ ।

र्‍यालीमा सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वका पक्षमा सन्देशमूलक नारा लगाउँदै नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए ।

सहभागीहरूले नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा विविधताभित्रको एकतालाई अझ सुदृढ बनाउनु आवश्यक रहेको धारणा राख्दै सामाजिक सद्भाव कायम राख्न सबै नागरिकको साझा जिम्मेवारी रहेको बताएका थिए ।

पछिल्ला दिनहरूमा सुनसरी सहित केही क्षेत्रमा देखिएको सामाजिक तनावका बीच आयोजना गरिएको यस र्‍यालीले शान्ति, सद्भाव र आपसी विश्वासको सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ ।