सुनसरी — सुनसरी प्रशासनले जिल्लाका १० स्थानीय तहमा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले शनिबार जारी गरेको आदेशअनुसार शनिबार बिहान ८:३० बजेदेखि कर्फ्यु हटाएर साँझ ५ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।

देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गत साउन १२ गते राति ९ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको थियो।

सुरक्षा अवस्थाको समीक्षा गरेपछि प्रशासनले कर्फ्यु हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न निषेधाज्ञा जारी गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधाज्ञा लागू गरिएको हो। निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा एक स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न पाइने छैन।

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकामा लागू हुनेछ।

प्रशासनले शान्ति–सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग आग्रह गरेको छ।

आदेशको उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ।