सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको प्रहरी गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो। गत सोमबार उनको शल्यक्रिया गरिएको भए पनि स्वास्थ्य अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। उनको शव हाल न्युरो अस्पतालमै राखिएको छ।

जयप्रकाशको मृत्यु भएपछि अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मृतकका आफन्त र स्थानीयको भीड लाग्नुका साथै अस्पताल परिसर शोकमय बनेको देवानगञ्जका स्थानीय जुगेस दासले जानकारी दिए।

aafanta2

यसअघि आइतबार राति भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्‍याइएलगत्तै राति १०ः४० बजे मृत्यु भएको थियो। उनको शव पनि हालसम्म अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

कप्तानगञ्जमा दुई पक्षबीच सुरु भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए।

तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने बाँकी आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।

हाल न्युरो अस्पतालमा देवानगञ्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगञ्ज–३ का १८ वर्षीय अमलेश मेहता उपचाररत छन्। विराट नर्सिङ होममा देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता, २५ वर्षीय सुनील मेहता, देवानगञ्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहता उपचाररत छन्। त्यस्तै नोबेल शिक्षण अस्पतालमा देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको उपचार भइरहेको छ।