सुनसरी — सुनसरीका १० स्थानीय तहमा आज पनि दिनभर कर्फ्यु आदेश कायम रहने भएको छ। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेश आज दिनभर लागू रहने जनाएको छ।
सुरक्षाको अवस्था क्रमशः सहज बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेका कारण कर्फ्युलाई निरन्तरता दिइएको जनाइएको छ।
सुरक्षा स्रोतका अनुसार आज दिउँसो ४ बजे जिल्ला प्रशासनले मृतकका परिवारसँग थप छलफल गर्ने तयारी गरेको छ। घटनापछि विगत पाँच दिनदेखि प्रशासन र मृतक परिवारबीच प्रभावकारी समन्वय हुन नसक्दा मृतकको शव अझै अस्पतालमै राखिएको छ।
मृतकका परिवारले मृतकलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्।
यसैबीच, प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।











