सुनसरी — सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष्ठा, धार्मिक पहिचान र सामाजिक छविमा गम्भीर क्षति पुगेको दाबी गर्दै घटनाबारे स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरेकी छन्।
सोमबार सार्वजनिक प्रेस वक्तव्यमा दासीले आफू कुनै व्यक्तिविरुद्ध प्रतिशोधको भावनाले नभई सत्यको स्थापना र कानुनी प्रक्रियामार्फत न्याय प्राप्त गर्ने उद्देश्यले आवाज उठाएको उल्लेख गरेकी छन्।
संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न, धर्मको अभ्यास गर्न र आफ्नो प्रतिष्ठाको संरक्षण गर्न पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले आफूले कानुनी बाटो रोजेको स्पष्ट पारेकी छन्।
वक्तव्यमा उनले न्यायपालिकाप्रति पूर्ण सम्मान व्यक्त गर्दै कानून निष्पक्ष रूपमा कार्यान्वयन भए सत्य अन्ततः स्थापित हुने विश्वास व्यक्त गरेकी छन्।
दासीले न्यायको खोजीका क्रममा सम्बन्धित सरकारी निकाय तथा गृहमन्त्रीसँग भेट गर्ने प्रयास गरे पनि लामो समयसम्म अवसर नपाएको गुनासो गरेकी छन्।
एक पीडित नागरिकका रूपमा आफ्नो कुरा सम्बन्धित निकायले सुन्नुपर्ने अपेक्षा रहेको उनको भनाइ छ।
अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै उनले त्यसकै नाममा कसैको प्रतिष्ठामा आँच पुर्याउने, अपुष्ट सामग्री फैलाउने वा घृणा फैलाउने कार्य स्वीकार्य हुन नसक्ने धारणा राखेकी छन्।
साइबर माध्यमबाट हुने मानहानि, चरित्रहत्या तथा डिजिटल दुर्व्यवहार नियन्त्रणका लागि प्रभावकारी कार्ययोजना लागू गर्न राज्यसँग आग्रह गर्दै उनले धार्मिक आस्था र व्यक्तिगत प्रतिष्ठामाथि लक्षित सामग्रीप्रति सम्बन्धित निकाय संवेदनशील र कानुनी रूपमा जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याएकी छन्।










