इटहरी । तरहराको युनाइटेड क्लब अफ तरहराले ‘तरहरा कप २०८३’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

युवालाई खेलकुद मार्फत सकारात्मक गतिविधि तर्फ आकर्षित गर्ने तथा लागु औषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

बुद्ध चोक स्थित बहु भाषी खेलमैदान तरहरामा साउन १७ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेलहरू दैनिक दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पूर्वाञ्चल युनाइटेड क्लब (मोरङ), मधेशा फुटबल क्लब इनरुवा, शुभ बिहानी क्लब रामधुनी, युनाइटेड क्लब अफ तरहरा ‘ए’, शान्तिनगर एफसी इटहरी, सतिसाले स्पोर्टस क्लब मोरङ, एपीएफ पकली र युनाइटेड क्लब अफ तरहरा ‘बी’ ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई १ हजार रुपैयाँ नगद प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड तथा उत्कृष्ट खेलाडी लगायत विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । ‘मैदानमा संघर्ष, इतिहासमा नाम, स्वस्थ समाज हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकाससँगै युवामा खेल संस्कृतिको विस्तार गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ ।

साथै प्रतियोगिता मार्फत युवालाई कुलतभन्दा खेलकुद तर्फ प्रेरित गर्ने सन्देश प्रवाह गरिने जनाएको छ ।