इटहरी — तरहरा साइकलिङ क्लबले सामाजिक उत्तरदायित्व र परोपकारी उद्देश्यलाई केन्द्रमा राख्दै शनिबार ‘तरहरा कोरा २०२६’ आयोजना गर्ने भएको छ।

स्थानीय पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्य सेवामा सहयोग जुटाउने लक्ष्यसहित आयोजना हुन लागेको कार्यक्रमबारे बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

आयोजकका अनुसार सहभागीहरू बिहान ५ः३० बजे उपस्थित हुनेछन्। बिहान ६ः३० बजे औपचारिक उद्घाटनपछि ६ः४५ बजे तरहरा चोकबाट साइकल यात्रा सुरु हुनेछ।

२६.१ किलोमिटर दूरी पार गर्दै यात्रा बिहान १०ः३० बजे श्री जनसहयोग माध्यमिक विद्यालयमा पुगेर समापन हुनेछ।

कार्यक्रममा ५५० भन्दा बढी साइकलप्रेमी सहभागी हुने अपेक्षा गरिएको छ।

साइकल यात्रा इटहरी उपमहानगरपालिकाभित्रका ३७ वटा रुट हुँदै सञ्चालन गरिनेछ। आयोजकका अनुसार यसले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्नुका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

तरहरा साइकलिङ क्लबका अध्यक्ष सुरज क्षेत्रीका अनुसार यस वर्ष ‘तरहरा कोरा’बाट संकलित च्यारिटी फन्ड स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिनेछ।

उक्त रकमबाट निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन, जलबिन्दु तथा मोतिबिन्दुको पहिचान, विपन्न ज्येष्ठ नागरिकको निःशुल्क शल्यक्रिया, सरकारी तथा सामुदायिक विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन स्थापना, अटिजम स्क्रिनिङ क्याम्प सञ्चालन तथा विपन्न बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिनेछ।

सामाजिक अभियानका रूपमा सुरु भएको ‘कोरा’ पछिल्ला वर्षहरूमा नेपालका विभिन्न सहरमा लोकप्रिय बन्दै गएको छ।

साइकल यात्रामार्फत वातावरण संरक्षण, स्वस्थ जीवनशैली र सामुदायिक सहयोगको सन्देश प्रवाह गर्दै आएको यो अभियानले तरहरामा पनि खेल पर्यटन र सामाजिक सेवाबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।