विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्वोलाई अगाडि सारेको छ । केन्द्रमा प्रदेश सरकार गठनमा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बिचमा गठबन्धन गर्ने सहमति भएसँगै नेपाली कम्युनिस्ट पार्टीले काशीका लागि भने इन्द्र आङ्वोलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूका बिचमा एकीकरण भएपछि नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सभा संसदीय दलको नेतामा आङ्वो चयन भएका थिए । दलको नेता आङ्वो भएकाले प्याकेजमा सहमति हुँदा कोशी नेपाली कम्युनिस्ट पार्टीको भागमा परेमा मुख्यमन्त्रीको रूपमा आङ्वोलाई अगाडि सार्ने तयारी भएको छ । 

पार्टी एकीकरण हुँदा पूर्व मुख्यमन्त्री समेत रहेका राजेन्द्र राईलाई एकीकृत समाजवादीले दलको नेताको रूपमा आगाडि सारेको थियो । तर आङ्वोको पक्षमा सहमति जुटेपछि उनी दलको नेता भएका थिए । तत्कालीन एकीकृत समाजवादीका नेता समेत रहेका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य राजेन्द्र राईले कोशीमा नेकपाले मुख्यमन्त्रीको रूपमा आङ्वोलाई अगाडि सार्ने बताए । उनले नेपाल प्रेससँग भने, प्याकेजमा सहमति भए कोशीमा नेपाली कम्युनिस्ट पार्टीका तर्पmबाट मुख्यमन्त्री हुने बताए । 

उनले भने, ‘मैले यस पटक मुख्यमन्त्रीमा दाबी गर्दिन । मैले नै नेताहरूलाई इन्द्र जी लाई मुख्यमन्त्री बनाउनु पर्छ भनेर भन्दै आएको छु । ’ उनले पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव कुमार नेपाललाई आङ्वोलाई मुख्यमन्त्री बनाउनु पर्छ भनेको बताए । उनले भने, ‘अहिले पार्टीमा पनि धेरै काम गर्नु पर्ने छ । मलाई सरकारमा भन्दा पनि पार्टीमा काम गर्न गर्ने इच्छा छ म त्यही भूमिका रहनेछु ।’ 

आङ्वो कोशी प्रदेशमा पटक पटक मन्त्री भएका छन् । २०७४ को निर्वाचनमा पाँचथरबाट विजयी भएका आङ्वो ७९का निर्वाचनमा पनि विजयी भएका छन् । पहिलो कार्यकालमै अर्थ मन्त्री भएका आङ्वो मुख्यमन्त्री भने हुन सकेका छैनन् । 

नेकपा एमाले र नेकपाका बिचमा प्रदेश सरकार गठन गर्ने विषयमा सहमति भए पनि कुन प्रदेशको नेतृत्व कस्ले गर्ने भन्ने सहमति भई सकेको छैन । अहिले कोशी प्रदेशमा नेपाली काँग्रेस र एमालेको गठबन्धन सरकार छ । गठबन्धन सरकार भए पनि नेपाली काँग्रेसले प्रदेश सरकारमा नरहने निर्णय गरिसकेको छ। 

सरकारमा नरहने निर्णय गरे पनि प्रदेश सरकारमा रहेका काँग्रेसका मन्त्रीहरूले राजीनामा भने दिएका छैनन् । केही दिन अघि काँग्रेसको बैठकले सरकारबाट हट्ने निर्णय गरेको थियो । कोशी प्रदेश सरकारमा काँग्रेसका तर्फबाट एक जना राज्यमन्त्री सहित ५ जना मन्त्रीहरू रहेका छन् । कोशी प्रदेश सरकारको नेतृत्व भने एमालेले गर्दै आएको छ । 

कोशीमा एमालेका ४० जना प्रदेश सभा सदस्य छन् भने तत्कालीन नेकपा माओवादी केन्द्रका १३ जना प्रदेश सभा सदस्य रहेका छन् । यस्तै एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्य रहेका छन् । कोशीमा सरकार गठनका लागि ४७ जना प्रदेश सभा सदस्यहरूको आवश्यकता पर्ने छ ।