विराटनगर । भारतको कोलकत्ताबाट  विराटनगर आउने रेल कार्गो  सेवाको शुभारम्भ भएको छ । तेस्रो देशबाट आएको माल बस्तु बोकेर विराटनगर सम्म आउने  रेल कार्गो सेवाको शुभारम्भ भएको हो ।  कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कुप्रसाद आचार्य, कोलकता भन्सार, कोलकता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाई रेल कार्गो सेवाको यस सेवाको उद्घाटन गरेका हुन् ।  नेपाली महावाणिज्य दूतावासका अनुसार यो सेवा २०८३ श्रावण १ गते देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। यसअघि यस्तो व्यावसायिक रेल कार्गो सुविधा  वीरगन्ज नाकाका लागि मात्र उपलब्ध रहेको थियो  । वीरगन्ज पछि विराटनगरमा पनि यो सेवा  सुरु भएको महावाणिज्य दूतावासले जनाएको छ ।  शुभारम्भ भएको कार्गो रेल सेवामा पहिलो पटक स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ । 
कार्गो रेलबाट ४० वटा ४० फिटका उच्च क्षमताका कन्टेनरहरू जोगबनी एकीकृत भन्सार जाँच चौकी हुँदै विराटनगर आइपुग्नेछन् । यी कन्टेनरहरूमा सुरक्षाका लागि इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम  समेत जडान गरिएको छ । 
यो सेवा सञ्चालनमा आएसँगै नेपालको वैदेशिक व्यापारमा ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ। सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो र सस्तो हुनुका साथै करिब २४ घण्टाभित्रै मालसामान विराटनगर आइपुग्ने महावाणिज्यदूतावासले जनाएको छ । यो सेवा सुरु भएसँगै व्यापारीले तिर्दै आएको विलम्ब शुल्क  कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार घट्ने उद्योग सङ्गठन मोरङले जनाएको छ ।