विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेसँग भइरहेको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको छ । विराटनगरमा आज बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको हो ।


कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन रहेको छ । सो सत्ता गठबन्धनलाई अव निरन्तरता नदिने निर्णय भएको नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए । उनले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भने भई नसकेको बताए ।


उनले कार्यदलको बैठक चलिरहेकै बेला शीर्ष नेताहरूको टेलिफोन आएपछि मन्त्री फिर्ता बोलाउने विषयमा भने टुङ्गो नलागेको बताए ।

उनले जानकारी दिँदै केन्द्रको निर्देशन प्राप्त भएपछि मात्रै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा निर्णय हुने बताए ।एमालेसँगको गठबन्धन भत्किएसँगै कोशी प्रदेशमा कांग्रेसले आगामी राजनीतिक कदमका लागि तीन वटा मुख्य विकल्पहरू अगाडि सारेको छ। थापाले भने।


पहिलो विकल्पका रूपमा केन्द्रमा एमालेसँग पुनः सहकार्यको वातावरण बन्ने परिस्थिति सिर्जना भएमा त्यसैलाई निरन्तरता दिने, दोस्रो विकल्पका रूपमा एमालेसँगको सहकार्य पूर्ण रूपमा अन्त्य भएमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० तथा अन्य साना दलहरूसँग मिलेर नयाँ सरकार गठन गर्ने र तेस्रो विकल्पका रूपमा यी दुवै अवस्था नबनेमा काँग्रेस कोसी प्रदेशमा सशक्त प्रतिपक्षको भूमिकामा बस्ने ।


कोशी सरकारमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी छन्। जसमा भौतिक पूर्वाधार मन्त्री सुनुवारसहित उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।